काठमाडौं । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा देवराज अर्यालले जानकारी दिए ।
उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । जेठा छोरा क्यानडामा रहेको र उनि आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिने लागिएको हो । हाल उनको शव अस्पतालमै राखिएको छ ।
प्राध्यापक चिरञ्जीवी शर्माले एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरेका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरेको बताए।
उनको शरीरमा पुनःअक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक छन् । उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गरेका थिए। यसैगरी प्रा शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गरेका थिए ।
उनि नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिव समेत थिए । उनले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भइ काम गरे भने २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट नवलपरासीबाट उम्मेदवार भएका थिए । शर्माले केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेत भएका थिए।