टीकापुर, १७ असार (रासस) : नौ वर्षअघि अर्काको घरमा बन्धकजस्तै भएर काम गर्न बाध्य मुक्त कमलरी अहिले अवसरको खोजीमा छन् । मुक्त भएपछि कतिपयले शिक्षा नियमित गरे भने कतिपय परिपक्क उमेर भइसकेकाहरु सीप सिकेर आत्मनिर्भरताको बाटोमा अघि बढेका
छन् । सीप सिकाहरु अहिले सक्षम भएका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनियाकी रजनी चौधरीले मुक्त भएपछि एक संस्थाको सहयोगमा तीन महिनाको सिलाइकटाइ तालिम पाउनुभयो । त्यसपछि थप काम सिकेर दक्ष भएपछि हाल उहाँ आफैँले सिलाइकटाइ पसल खोल्नुभएको छ । धेरैको साथ र सहयोग पाएर रजनी अहिले उद्यमी बन्न सफल हुनुभयो । उहाँको पसलमा अहिले ६ कामदार छन् र धेरैलाई निःशुल्क सीप दिइरहनुभएको छ ।
व्यवसायमा स्थापित भएपछि रजनीले अहिले अध्ययनलाई पनि अगाडि बढाउनुभएको छ । “कमलरी मुक्त भएपछि के गरेर गुजारा गरिएला भन्ने पिर थियो, सिलाइकटाइ तालिम पाएँ, तीन महिनामा दक्ष बन्न सकिएन, त्यही पसलमा थप सीप सिकेँ”, उहाँले भन्नुभयो, “धेरै सहयोगी भेटिए, सहयोग र साथ पाएपछि आफ्नै पसल खोलेँ । आजभोलि आफैँ उद्यमी भएकी छु ।”
उहाँ आफूजस्ता विपन्न सयौँ किशोरीलाई निःशुल्क सिलाइ सिकाउँदै गरेको बताउनुहुन्छ । “निःशुल्क सीप दिनुका साथै, केहीलाई रोजगारी दिएकी छु”, रजनीले थप्नुभयो, “अहिले कमाइ पनि रामै्र छ ।”
यस्तै टीकापुर–२ विजयनगरकी गीता चौधरी पनि सफलताको बाटोमा अघि बढिरहनुभएको छ । विद्यालय उमेर कटिसकेकी गीताले तीन महिना बिज्र कक्षा लिनुभयो । एकैपटक कक्षा ५ मा भर्ना भएर एसएलसी उत्तीर्णपछि भेटनरी उहाँले अध्ययन गर्नुभयो । उहाँले अहिले आफ्नै एग्रोभेट खोल्नुभएको छ । “मैले पढेर यहाँसम्म पुगुला सोचेकी थिइनँ, इच्छाशक्ति र सहयोगी पाए हिम्मत बढ्ने रहेछ”, गीताले भन्नुभयो, “आफ्नै एग्रोभेट छ । अब आफ्ना लागि आफैँले गर्नसक्ने भएकी छु ।”
टीकापुर–१ शिवनगरकी रञ्जिताकुमारी चौधरीले पनि कमलहरी मुक्तपछि १२ कक्षासम्म अध्ययन गर्नुभयो । त्यसपछि उहाँले नास्ता पसल खोल्नुभएको छ । त्यही पसलबाट उहाँको जीवन चलेको छ । “१२ कक्षामाथि पनि पढ्ने रहर थियो तर छात्रवृत्ति पाए हुन्थ्योे”, उहाँले भन्नुभयो, “नास्ता पसलबाट गुजारा चलेको छ । अहिले स्वतन्त्र जीवन जिउन पाएकोमा खुसी छु ।”
मुक्त कमलहरी सिर्जना चौधरी पनि सात वर्ष कमलरी बस्दासम्म निरक्षर हुनुहुन्थ्यो । पछि साक्षर भएर ५ कक्षामा भर्ना हुनुभयो । सिर्जना अहिले स्नातक तह दोस्रो वर्षमा पढ्दै र व्यवसायसमेत गरिरहनुभएको छ । “पढाइ पनि नियमित छ । बिहान क्याम्पस जान्छु, दिउँसोको समयमा खाजा पसल चलाएकी छु”, उहाँले भन्नुभयो, “पसल ठूलो बनाउने योजना थियो तर लगानी गर्नसक्ने अवस्था छैन । सानो भए पनि पढाइ खर्च र गुजारा चलेको छ ।”
कैलालीकै अनिता चौधरीको जीवनसमेत फेरिएको छ । मुक्तपछि विद्यालय पुनः पढ्न पाएकी अनिताले १० कक्षासम्म पढेर व्यवसाय सञ्चालन गरिरहुन भएको छ । उहाँ व्यवसाय विकासमा सरकारको सहयोग भए राम्रो हुन्थ्यो भन्नुहुन्छ, “हामीजस्ता मुक्त कमलरीका लागि सरकारले व्यवसाय सञ्चालनमा अनुदान, सहयोग, थप तालिमजस्ता कार्यक्रम गरिदिएको भए अझ सफल हुने थियौँ ।”
कैलालीकै प्रेमी थारु पनि व्यवसायी बन्नुभएको छ । प्रेमीले सानैमा विवाह गर्नुभयो । विवाहलगत्तै सन्तान जन्मियो । प्रेमीका श्रीमान बितेपछि उहाँ एकल हुनुभयो । अध्ययन पनि पूरा गर्न पाइएन । कमलरी मुक्तपछि प्रेमीले पनि खाजा पसल चलाएर गुजारा गरिरहनुभएको छ । “बच्चा साथमा छ, श्रीमान् नरहेपछि बच्चाको जिम्मेवारी पनि मेरै काँधमा छ”, उहाँ भन्नुहुन्छ, “अहिले यही पसलले हाम्रो जीवन धानिएको छ । मुक्तपछिका केही समय सङ्घसंस्थाले सघाए तर अहिले पनि हामीलाई सहयोग चाहिएको छ ।”
टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह मुक्त कमलरीको सीप विकास र व्यवसायमा सघाउन नगरपालिकाले विभिन्न कार्यक्रम ल्याइने बताउनुभयो । “हामीले श्रम सहकारी गठन गर्ने योजना बनाएका छौँ, हामीले श्रम गरेर जीविका चलाउने नागरिकलाई पालिकाले योजना बनाएर सहयोग गर्ने नीति लिएका छौँ”, उहाँले भन्नुभयो, “मुक्त कमलरीको संस्थागत र व्यक्तिगत विकासमा पालिका सहयोगी बन्छ ।”