भारतको ओडिसास्थित KIIT कलेजको होस्टेलमा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला


काठमाडौं – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) को होस्टेलमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साह बिहीबार साँझ मृत अवस्थामा फेला परेकी छन्।

वीरगञ्ज स्थायी ठेगाना भएकी साह साँझ करिब ७ बजेतिर होस्टेलको कोठामा मृत अवस्थामा भेटिएकी हुन्। घटनाको जानकारी पाउनेबित्तिकै स्थानीय प्रहरी र फोरेन्सिक टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेका छन्। प्रहरीले यो घटना ‘अप्राकृतिक मृत्यु’ अन्तर्गतको रुपमा दर्ता गरी अनुसन्धान अघि बढाइएको जनाएको छ।

मृतकको परिवारलाई घटनाबारे जानकारी गराइएको छ भने दिल्लीस्थित नेपाली दूतावासमार्फत निरन्तर निगरानी भइरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छिन्। यसैगरी, भारतस्थित नेपाली राजदूत डा. शंकर पी शर्माले घटनाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।

यो घटनाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर चासो पैदा गरेको छ। स्मरण रहोस्, यसअघि पनि यही संस्थानमा अध्ययनरत अर्की नेपाली विद्यार्थी प्रकृति लम्साल गत फागुन ४ गते (फेब्रुअरी १६) मा होस्टेलभित्रै मृत अवस्थामा फेला परेकी थिइन्।

सम्बन्धित निकायहरूद्वारा घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार