• २०८२ कार्तिक २६ गते मङ्गलवार
  • Preeti To Unicode

सयपत्री फूलको माग बढ्यो, घट्यो कृतिम फूलको आयात



काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेकोे छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो । त्यस्तै  ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ। पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको कारोबार गर्न पनि व्यापारीलाई भ्याइ नभ्याइ हुने गरको छ । यसपटक माला बिक्रीका लागि भइरहेको प्रतिस्पर्धाले गत वर्षभन्दा मूल्य पनि सस्तो भएको छ ।

धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन् । धनगढी उपमहानगरपालिकाको मोतिचोकस्थित सनराइज मल्टी एग्रो प्रालिका इन्द्रबहादुर सेठी पुष्पखेती गर्ने किसान बढे पनि यसबाट अपेक्षित आम्दानी गर्न नसकिएको बताउछन् ।

व्यापारीसँग ग्राहकले सयपत्रीका मालाको मोलमोलाइ गरिरहँदा प्रतिमाला रु ६० सम्म पाउने गरेको माला खरिद गरेको भेटिएका धनगढी उपमहानगरपालिका(४का हेमराज भट्टले बताए । सयपत्री फूलका माला सहज रूपमा पाउन थालेसँगै विगतका वर्षमा जस्तो तिहारका समयमा  बाहिरबाट आयात हुने कृत्रिम फूलमाला प्रयोग गर्नुपर्ने बाध्यता भने हटेको उनको भनाइ छ ।

धनगढीको हावापानीमा कर्मा ट्रिपल प्रजातिको सयपत्रीको खेती निकै फस्टाएको छ । टिपेको पाँच÷छ दिनसम्म पनि नबिग्रिने भएकाले धेरैले यसैको खेती रोजेका पुष्प व्यवसायीले बताउने गरेका छन् । पुष्पखेतीसँगै फूल टिप्ने र माला उन्ने काममा रोजगारीको अवसर पनि प्राप्त भएको छ ।

धनगढी क्षेत्रमा पुष्पखेती गर्ने किसानहरूको सङ्ख्या करिब ३५ पुगेको बताइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले बाहिरबाट हुने फूलको आयातलाई रोक्न स्थानीय किसानलाई पुष्पखेती व्यवसायतर्फ उत्प्रेरित गरेपछि पनि यसतर्फ आकर्षण बढेको हो ।

उपमहानले पुष्पखेती प्रवर्द्धनमा जोड दिदै नगर क्षेत्रमा सयपत्री, मखमली जस्ता फूलको खेती गर्न चाहने २६ किसानलाई गतवर्ष तालिमका साथै अन्य प्राविधिक सहयोग गरेको थियो । धनगढीलाई प्राकृतिक फूल सङ्कलनको ‘हब’बनाउने लक्ष्यअनुरूप उपमहानगरले प्राकृतिक फूलको प्रवर्द्धनमा जोड दिएको र  बाहिरबाट भित्रिने प्लाष्टिजन्य कृत्रिम फूलमालाको कारोबारमा रोक लगाएको जनाएको छ । स्थानीय बजारमा बिक्रीका लागि ल्याउने गरिएको सयपत्री फूलमाला प्रतिगोटा कम्तीमा रु ६० देखि रु सयसम्म बिक्री वितरण भइरहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १७ गते शनिवार