17.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिनुभएको छ । नेकपा (माओवादी केन्द्र) को रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिनुभयो । “म के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र ?  मीनाले हरेकजसो सभा र भेलामा भन्नुहुन्छ, “यो हाम्रो समुदायको लागि अवसरसँगै चुनौति पनि हो । हामी कति दिन अरुको भोट बैंक बन्ने । नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु ।” गाउँपालिका अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने उहाँको भनाइ छ । मीनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्य रहनुभएका प्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो । मीनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्न आएकाका आँखा रसाउने गर्छन् । उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रनुभएकी उहाँको प्रतिस्पर्धीको रुपमा एमालेका प्रेमबहादुर कार्की र नेपाली कांग्रेसका भवबहादुर भण्डारी हुनुहुन्छ । गाउँपालिका उपाध्यक्षमा एमालेले यामकुमारी गर्बुजा, कांग्रेसले प्रेमकुमारी पुन र माओवादीले रिमबहादुर कटुवाललाई उम्मेदवार बनाएको छ । रघुगङ्गामा निर्वाचित हुने ४२ पदका लागि १३५ चुनावी मैदानमा रहेका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो । बेनी नगरपालिका–१० पात्लेखेत माइती भएको मीनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो । अनेरास्ववियु क्रान्तिकारी र वाइसिएलमा आबद्ध हुनुभएकी उहाँ विवाहपछि राजनीतिमा निष्क्रिय हुनुभएको थियो । गाउँमै खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आउनुभएकी मीना पछिल्लो समय पार्टीसँग सम्बद्ध भएर उम्मेदवार बन्नुभएको हो । उहाँका जेठा छोरा १० वर्षका छन् । दुई वर्षका छोरा बोकेर भोट माग्न घरदैलो अभियानमा उहाँ व्यस्त हुनुहुन्छ । मिनाका श्रीमान् पनि सँगै चुनाव प्रचारमा हुनुहुन्छ । प्रमुख पदमा मीनासहित म्याग्दीमा तीन महिला उम्मेदवार हुनुहुन्छ । धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा उम्मेदवार बन्नुभएको छ । माओवादी केन्द्रले मङ्गला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित समुदायबाट प्रमुख पदमा टेकबहादुर र मीना दुई मात्र उम्मेदवार हुनुहुन्छ । वडाध्यक्ष पदमा दुई मात्र महिला उम्मेदवार छन् । सो गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेले लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई उम्मेदवार बनाएका छन् । ६ वटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धवलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्र र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा तालमेल गरेका छन् । चार गाउँपालिकाका अध्यक्ष र १७ वडाध्यक्ष एकै पदमा दोहोरिएर उम्मेदवार बनेका छन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles