19.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

उपभोक्ता सचेतना बढाउँदै टीकापुर नगरपालिका

कैलालीको टीकापुर नगरपालिकाले ठगिनबाट जोगाउन उपभोक्ता सचेतना बढाउँदै लगेको छ । यसका लागि नगरपालिकाले बजार अनुगमनलगायतका कार्यक्रम नियमित गरिरहेको जनाएको छ । अनुगमनका क्रममा कैफियत देखिए कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाउँदै आएको छ ।

नगर उपप्रमुख खडकबहादुर शाहले कार्ययोजना बनाएर नियमित बजार अनुगमन गर्नुपर्ने र कैफियत भेटिए बिनापूर्वाग्रह कानुनअनुसार कारबाही गरिने बताउनुभएको छ । उपभोक्ता हित संरक्षण शाखा टीकापुरले गरेको वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो ,“आम नागरिकको जीवनसँग जोडिएका विषयमा व्यवसायी जिम्मेवार बन्नुपर्छ, उपभोक्ता ठगिएको, व्यापारीले ठगी गरेको भेटिए हामी कारबाही
गर्छौँ । अनुगमनकार्य नियमित हुनेछ ।”

कार्यक्रममा विभिन्न वडामा खटिएका उपभोक्ता सचेतना स्वयंसेवकले व्यवसाय दर्ता नभएका, मूल्यसूची नराखेका, म्याद नाघेका वस्तु बेच्ने गरेका र केही विक्रेताले वस्तुमा लेखेको लेवलसमेत पढ्न नसक्ने अवस्था भएको जानकारी गराएका थिए । वडा नं २ मा खटिनुभएकी स्वयंसेवक रिमा चौधरीले विजयनगर गाउँको बजारका पसलको अवस्था बुझ्दा सबैजसो पसलले म्याद नाघेका वस्तु बेच्ने गरेका र विक्रेता वस्तुको लेवल पढ्न नजान्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।

वडा नं ५ का स्वयंसेवक सञ्जु चौधरीले गाउँको बजारमा हप्ता दिनअघि म्याद नाघिसकेका वस्तु खरिद गरेर बेच्न राखेको पाइएको
बताउनुभयो । “गाउँमा म्याद नाघेका खाद्यवस्तुसमेत बेच्ने गरेका पाइएका छन्”, उहाँले भन्नुभयो, “सामान खरिद गर्न बालबालिका र महिला जान्छन्, बालबालिका म्याद हेर्न जान्दैनन्, महिलाहरू पनि कोही नजान्ने, कोही ध्यान नदिने हुन्छ । यस्तो बेला व्यापारीले लापरवाही गरे स्वास्थ्य जोखिममा रहन्छ ।”

नगरपालिकाले हरेक वडामा दुई जनाका दरले १८ युवालाई स्वयंसेवकका रूपमा वडाका बजारमा पठाएको छ । नपाले यस वर्ष १३० अरु युवालाई पनि उपभोक्ता अधिकारका बारेमा अभिमुखीकरण गरेको छ । उपशाखाले वस्तुको आधारमूल्य थाहा पाउन हरेक महिनाको पहिलो साता खाद्यान्न, फलफूल, तरकारी गरी ६५ वटा उपभोग्य वस्तुको मूल्य सङ्कलन गरी सार्वजनिक गर्दै आएको छ । नपाका निरीक्षण अधिकृत रञ्जु आचार्य टीकापुरको बजारभन्दा ग्रामीण क्षेत्रमा झन् बढी समस्या देखिएको नगरपालिकाको अनुगमनले पनि देखाएको जानकारी
दिनुभयो । ‘‘बजारभन्दा गाउँतिर रहेका साना बजारमा म्याद नाघेका वस्तु बिक्री भएका भेटिने गरेका छन्, त्यसैले हामीले गाउँ–गाउँका बजारमा अनुगमनका लागि स्वयंसेवक खटाएका हौँ”, उहाँ भन्नुभयो, “पहिलो चरणमा सम्झाउने र अवस्थाबारे जानकारी भयो, अब आउँदा दिनमा कानुनअनुसार अघि बढ्न सकिन्छ ।”

नगरपालिकाले बजार व्यवस्थापन ऐन र नियमावली बनाएर अनुगमन, गुनासो सुनुवाइ र कारबाहीका काम सँगसँगै गरिरहेको छ ।
आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर केसीले उपभोक्ता सचेत र व्यवसायी जिम्मेवार नभएसम्म उपभोक्ता सुरक्षित हुन नसक्ने बताउनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च टीकापुका अध्यक्ष एकिन्द्र तिमिल्सिना उपभोक्तालाई सचेतना कार्यक्रम गरी व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिनुभएको छ ।

भजनी नगरपालिका साक्षर घोषणा

कैलालीको भजनी नगरपालिका साक्षर पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका १५ देखि ६० वर्ष उमेर समूहका ९७ प्रतिशत नागरिक साक्षर भएसँगै एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

नपाभित्र रहेका तीन हजार ७३४ घरधुरीको सर्वेक्षणबाट सबै जना साक्षर भएको तथ्याङ्कानुसार साक्षर पालिका घोषणा गरिएको नगरपालिकाले जनाएको छ । विसं २०६७ को सर्वेक्षणअनुसार नपाभित्र निरक्षरता सङ्ख्या ११ हजार ७२० रहेकामा विसं २०७१ सम्म विभिन्न स्थानमा साक्षरता कक्षा सञ्चालन भएको थियो ।

साक्षरता कक्षाबाट १२ हजार २९ जना साक्षर बनेका थिए । यसका लागि नगरपालिकाले १२५ स्थानमा साक्षरता कक्षा सञ्चालन गरेको जनाएको छ । १५ देखि ६० वर्ष उमेर समूहले अक्षर चिन्न सक्ने साक्षरता दर बढेसँगै नपालाई साक्षर नगरपालिका घोषणा गरिएको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताउनुभयो । यसअघि कैलालीका जोशीपुर, जानकी, टीकापुरलगायतका पालिका साक्षर घोषणा भइसकेका छन् ।

जानकीमा आफ्नो नामः आफ्नो रुख कार्यक्रम सुरु

कैलालीको जानकी गाउँपालिकाले आफ्नो नामः आफ्नो रुख कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इञ्जीनियर योगेन्द्र शाहीले आफ्नो जन्मदिनको अवसर पारी कटासेस्थित खेलमैदानमा रुख रोपेर सो अभियानको सुरु गर्नुभएको हो ।

गाउँपालिकाले आव २०७९÷८० को नीति तथा कार्यक्रममा वन वातावरण तथा विपद् व्यवस्थापनका लागि पालिकालाई हरित गाउँपालिका बनाउन आफ्नो नामः आफ्नो रुख कार्यक्रम अघि सारेको थियो । वडा नं ९ स्थित कटासे फुटबल मैदानमा इञ्जीनियर शाहीले सीता अशोकका चारवटा रुख रोप्नुभएको छ । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आफ्नो जन्मदिनमा रुख रोप्ने र त्यसमा आफ्नो नाम लेख्ने कार्यक्रम सुरु गरेर पालिकालाई हरित पालिका बनाउन सहज हुने बताउनुभयो । उहाँले हरेक नागरिकलाई आफ्नो जन्मोत्सवमा रुख आग्रह गर्नुभएको छ । “वन वातावरण संरक्षण सबैको दायित्व हो, जन्मदिनमा कम्तीका दुई–चार रुख रोप्नसके पनि वातावरण संरक्षणमा जिम्मेवार बनाउँछ”, उहाँले भन्नुभयो, “आफूले रोपेको रुख संरक्षण गर्न पनि मन लाग्छ । त्यसैले रुख रोप्न अनुरोध गरेका छौँ । यस कार्यमा सबै पालिकाका नागरिक सहभागी हुने आशा गरेका छौँ ।”

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles