16.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

नारायणी रङ्गशालाको प्रतिवेदन राखेपमा

पर्साको वीरगञ्जस्थित नारायणी रङ्गशालाको जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रतिवेदन बुझाएको छ । राखेपका सदस्य मानदेव हजाराको संयोजकत्वमा गठित उपसमितिले परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो ।

नारायणी रङ्गशालाको भोगचलनमा रहेको कूल १८ बिघा जग्गामध्ये १० जना व्यक्तिको १४ कठ्ठा निजी जग्गा रहेकाले उक्त समस्या समाधानका लागि राखेपको ९३औँ बोर्ड बैठकले राखेपका सदस्य हजाराको संयोजकत्वमा जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमिति गठन गरेको थियो । उक्त समितिले नै राखेपका सदस्यसचिव घिसिङलाई समितिको प्रतिवेदन बुझाएको हो ।

गठित समितिले १० जग्गाधनीसँग छलफल गरेर प्रतिवेदन तयार पारी बुझाएको उपसमितिका संयोजक हजाराले बताउनुभयो । हजाराका अनुसार अब परिषद्ले उक्त प्रतिवेदन बोर्ड बैठकमा प्रस्तुत गरिसकेपछि खेलकुद मन्त्रालय हुँदै अर्थ मन्त्रालयसमक्ष पुगेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल्याङ्कन समितिले मूल्याङ्कन गरेपछि मुआब्जाको काम अघि बढ्नेछ ।

परीक्षाबाट बञ्चित नगराउन महानगरपालिकाको निर्देशन

यसैबीच वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित सामुदायिक वा संस्थागत विद्यालयमा कुनै पनि शुल्कको बहानामा विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगराउन वीरगञ्ज महानगरपालिकाले निर्देशन दिएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको सचिवालयले एक सूचना जारी गर्दै महानगरभित्रका सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क वा अन्य कुनै पनि शुल्कको बहानामा परीक्षामा सहभागी हुनबाट रोक नलगाउन निर्देशन दिएको हो । कुनै विद्यालयले परीक्षामा सहभागी हुनबाट रोक लगाएको पाइएमा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा जानकारी गराउन पनि सूचनामार्फत आग्रह गरिएको छ ।

वीरगञ्जका संस्थागत विद्यालयले शुल्क नतिरेको बहानामा विद्यार्थीलाई परीक्षामा सहभागी हुनबाट रोक लगाउने चेतावनी दिएको अभिभावकले गुनासो गरेपछि नगरप्रमुख सिंहकै निर्देशनमा सचिवालयको ध्यानाकर्षण भएको नगरप्रमुखका स्वकीयसचिव सत्यराज घिमिरले जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles