Breaking पर्यटन समाचार

पोखरामा संस्कृत शिक्षामा आकर्षण बढ्दै

Written by janaawaaj

इतिहासमा पिँढीमा विद्यार्थी राखेर संस्कृत र वेदका ऋचाको पठनपाठनका कारण पिँढी पाठशालाको पहिचान बनाएको पोखरामा अहिले भने संस्कृत विषयको पठनपाठन गराउने क्याम्पसदेखि विद्याश्रम सञ्चालनमा छन् ।

इतिहास अनुसार १८–१९औँ शताब्दीतिर कास्कीको उत्तरी भेग हालको अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा पिँढीमा विद्यार्थीलाई राखेर गुरुशिष्य परम्परा अनुसार संस्कृत तथा त्यससँगै जोडिएका वेद तथा चण्डी आदिको पठनपाठन हुन्थ्यो । त्यसै समयदेखि पाउँदुरसहित विन्ध्यवासिनी आसपासका क्षेत्रमा हुने गरेका पठनपाठनका कारण कास्की शिक्षाको केन्द्र जस्तै बनेको थियो ।

पाउँदुरमा पौडेल थरका गुरुले आफ्ना शिष्यहरूलाई पिँढीमा राखेर पढाउने भएकै कारण पोखराको शैक्षिक विकास पिँढी पाठशालाबाट सुरु भएको यस क्षेत्रका भएको अध्येताहरू बताउँछन् । तत्कालीन समयमा विन्ध्यवासिनी र आसपासमा पराजुली तथा रेग्मी थरका विद्वानले गुरुशिष्य परम्पराअनुसार नै पठपाठन गराएइका कारण देशका विभिन्न स्थानबाट पोखरामा पढ्नका लागि विद्यार्थी आउने गर्दथे । त्यसै बेलादेखि शिक्षा नपाए काशी कि कास्की भन्ने प्रचलन भएको अनुमान गरिन्छ । पछिल्ला समयमा आधुनिक शिक्षाको नाममा संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएका अवस्थामा पोखरामा भने यसप्रतिको आकर्षण घटेको देखिदैन ।

संस्कृत पढ्नकै लागि देशका विभिन्न स्थानबाट भीमकालीपाटन बगरस्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा विद्यार्थी आउने गरेका छन् । संस्कृत प्रेमीको सक्रियतामा २०५० सालमा स्थापित यो विद्यापीठ २०५३ सालमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को आङ्गिक क्याम्पस बनेको थियो । त्यस्तै पोखराको संस्कृत माध्यमिक विद्यालय, चिसाखोला विद्याश्रम, नारायणस्थान, परोपकार सङ्घ ढुङ्गेसाँघु, राधाकृष्ण गुरुकुल विद्याश्रम लामेआहाल, विन्ध्यवासिनी, गुप्तेश्वर महादेव गुफालगायतका स्थानमा संस्कृत विषयमा विद्यालय तहसम्मको पठनपाठन भइरहेको छ ।

विन्दुवासिनी संस्कृत विद्यापीठमा फलित ज्योतिष, साहित्य तथा संस्कृत व्याकरण विषयमा चार वर्षे शास्त्री तहको पठनपाठन हुँदै आएको छ । विद्यापीठमा प्राक्शास्त्री समेत गरी करिब १०० सङ्ख्यामा विद्यार्थी अध्ययन गरिरहेको विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मी बताउनुहुन्छ । विद्यापीठमा विभिन्न जातजातीका विद्यार्थी अध्ययन गरिरहेका छन् ।

संस्कृत शिक्षामा अनुसन्धानको आवश्यकतालाई दृष्टिगत गरी विद्यापीठले अनुसन्धानात्मक गतिविधिलाई पनि प्राथमिकताका साथ अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

विद्यापीठमा अनुसन्धानात्मक कार्यलाई जोड दिँदै अनुसन्धान व्यवस्थापन समितिमार्फत अनुसन्धानात्मक जर्नल निकाल्न थालिएको प्रचार्य डा रेग्मीले बताउनुभयो । विद्यापीठमा आचार्य(स्नातकोत्तर) तहको पठनपाठनको तयारी गरिएको छ । पोखरामा औपचारिकरुपमा विसं १९५८ मा देव शम्शेरको पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो । जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा रहेको छ ।
विद्यार्थीको अभावमा देशका विभिन्न स्थानका संस्कृत विद्यालय बन्द हुने अवस्थामा पुगेपनि पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण बर्सेनि बढ्दो छ । विद्यालयमा हाल २०० भन्दा बढी सङ्ख्यामा विद्यार्थी पढिरहेको विद्यालयका प्रधानाध्यापक गोविन्द सिग्देलले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनतरत विद्यार्थीलाई कक्षा ५ देखि माथि आवासीय सुविधा प्रदान गरिएको उल्लेख गर्दै उहाँले हाल करिब २० देखि ३० जनासम्म विद्यार्थीले आवासीय सुविधा लिएको बताउनुभयो ।

विद्यालयमा ब्राह्मण मात्र नभइ महिला तथा दलित समुदायका विद्यार्थी अध्ययन गरिरहेका छन् । गुणस्तरीयतालाई लक्षित गरी विद्यालयमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाटै पठनपाठन सुरु गरिसकेको छ । संस्कृत माविमा अध्ययन गर्नेले कक्षा ६ भन्दा माथि कूल ८०० पूर्णाङ्मध्ये २०० अङ्कको मात्र संस्कृत पढ्नुपर्छ । अन्य साधारण माविमा जस्तै हो भन्ने आम जनमानसमा जानकारी गराउन नसक्नाले पनि संस्कृत शिक्षाप्रति अझै विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्न नसकेको यस क्षेत्रका जानकार बताउँछन् ।

विद्यालयमा कक्षा ११ र १२ सम्मको पठनपाठन भइरहेको छ । विगतमा संस्कृत केवल ब्राम्हण समुदायका ले मात्रै पढ्ने भनिए पनि पछिल्ला समयमा सबै जातजातीको यसतर्फ आकर्षण बढेको छ । विद्यालयमा करिब ५० प्रतिशत ब्राम्हण समुदायका छन् भने ५० प्रतिशत दलित तथा जनजाती समुदायका रहेको प्रधानाध्यापक सिग्देलले जानकारी दिनुयो । समाजमा नैतिकता, सदाचारको खडेरी पर्दै गएको अवस्थामा पछिल्लो समयमा संस्कृत शिक्षाको आवश्यकता तथा महत्व बढ्दै गएको
देखिन्छ ।

जिल्लामा सञ्चालित गुरुकुल तथा विद्याश्रमको पठनपाठनकोस्तर राम्रो रहेको जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुवेदीले बताउनुभयो ।

About the author

janaawaaj