• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

बालबालिकामा दमको समस्या र यसको उपचारका उपायहरू


काठमाडौँ  – बालबालिकामा दमको समस्या प्रायः एलर्जीका कारण उत्पन्न हुन्छ, जुन ९० प्रतिशत केसमा देखा पर्छ। वंशाणुगत र वातावरणीय कारणहरूले पनि यस रोगको जोखिम बढाउँछन्। यदि आमाबाबुमा एलर्जीको समस्या छ भने, बच्चामा पनि यसको सम्भावना बढी हुन्छ।

दमका लक्षणहरूमा श्वास फेर्न गाह्रो, खोकी लाग्ने, घाँटी चुइँचुइँ गर्ने आवाज आउने र श्वास फेर्न गाह्रो भएको बताउन बच्चाले विभिन्न चिन्हहरू देखाउँछन्। यस्ता लक्षणहरू खेल्दा, हाँस्दा, वा खोकी गर्दा पनि देखा पर्न सक्छ।

विशेषज्ञका अनुसार, ५ वर्ष मुनिका बच्चामा सामान्य रुघाखोकी प्रकट हुनु सामान्य कुरा हो, तर श्वास फेर्न गाह्रो र खोकी लामो समयसम्म रहनु भने दमको संकेत हुन सक्छ। यस्ता समस्यामा परिवारको इतिहास पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। परिवारमा यदि दमको समस्या छ भने, बच्चामा पनि यसको जोखिम बढी हुन्छ।

दमको उपचारका लागि नेबुलाइजर र इन्हेलर थेरापीका प्रयोग अत्यन्त महत्त्वपूर्ण छन्। रेस्क्यु थेरापीले तत्काल राहत दिन्छ भने, कन्ट्रोलर थेरापीले लामो समयसम्म रोगको नियन्त्रण गर्न मद्दत पुर्याउँछ। साथै, स्टेरोइडको प्रयोग सस्तो डोजमा गर्नुपर्छ, जसले श्वासनलीको संरचना बिग्रनबाट बचाउँछ।

यदि समयमै उपचार नगर्ने हो भने, दमका लक्षणहरू बिग्रन सक्छ र श्वासप्रश्वासजन्य रोग (COPD) जस्तो समस्यासमेत उत्पन्न हुन सक्छ। उपचारमा ढिलाइ गर्दा जटिलता आउन सक्छ र बच्चालाई आइसीयूमा भर्ना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ।

यस समस्याबाट बच्नका लागि अभिभावकहरूले शिशुको जन्मको माहोल तनावमुक्त राख्नुपर्छ, एन्टिबायोटिकको अन्धाधुंध प्रयोग नगर्नु पर्छ र डाक्टरको परामर्श अनुसार उपचारमा ध्यान दिनु पर्छ।

डा. अन्जली बगारिया घिरैया, कन्सल्ट्यान्ट पिडियाट्रिसियन, नर्भिक अस्पतालका अनुसार, बच्चाको दमको समस्या पहिचान र उपचारमा समयमै ध्यान दिनु अत्यन्त आवश्यक छ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार