देशभर कक्षा १२ को परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी


काठमाडौं– देशभरका विभिन्न परीक्षा केन्द्रमा आज (आइतबार) बिहानदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत सञ्चालन हुने परीक्षा बिहान ८:०० बजे सुरु भई ११:०० बजेसम्म सञ्चालन हुनेछ।

परीक्षा आजबाट सुरु भई जेठ २ गतेसम्म सञ्चालन हुने तालिका छ। परीक्षा शान्तिपूर्ण र सुव्यवस्थित ढंगले सञ्चालन गर्न नेपालभर १,५९० परीक्षा केन्द्र तोकिएको छ, भने जापानमा पनि एक परीक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ। यसअनुसार, कुल १,५९१ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३,९५,९०८ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये १,९८,८७५ जना छात्र र १,९७,०१३ जना छात्रा रहेका छन्। यस्तै, आंशिकतर्फ १,१५,६१७ परीक्षार्थी परीक्षा दिइरहेका छन्। यसअनुसार, कूल ५,११,५२५ विद्यार्थीले कक्षा १२ को परीक्षा दिइरहेका छन्।

परीक्षा व्यवस्थित, सुरक्षित र सफल बनाउने उद्देश्यले देशभर करिब २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै, प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, कार्यालय सहयोगी, सुरक्षाकर्मी र अन्य आवश्यक जनशक्तिको व्यवस्था मिलाइएको छ।

विशेष आवश्यकतायुक्त परीक्षार्थीहरू – जस्तै दृष्टिविहीन, सुस्त मनस्थिति भएका, श्रवणशक्ति कमजोर भएकाहरू – का लागि आवश्यक विशेष व्यवस्था गरिएको बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा र बोर्ड अध्यक्षले परीक्षा सञ्चालनका सबै तयारी पूरा भएको र परीक्षा संयमितरूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार