• २०८२ कार्तिक १३ गते बुधवार
  • Preeti To Unicode

इन्द्रजात्रा सुरु : बसन्तपुरमा लिङ्गो ठड्याएर प्रारम्भ


काठमाडौं, १९ भदौ। राजधानी काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा आज हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै प्रसिद्ध इन्द्रजात्रा पर्व सुरु भएको छ।

नेवारी समुदायको सबैभन्दा ठूलो धार्मिक–सांस्कृतिक पर्व मानिने इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर सुरु गरिन्छ। आठ दिनसम्म चल्ने यस पर्वमा नाचगान, रथयात्रा र पूजाआजा हुँदै उत्सवको माहोल रहन्छ। आज ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ भने लिंगोको फेदमा भैरवको पूजा गर्ने प्रचलन रहेको छ।

इतिहासमा शत्रु पराजयपश्चात् विजय उत्सवका रूपमा सुरु भएको मानिने इन्द्रजात्रा शक्ति र आस्थाको प्रतीक मानिन्छ। यस पर्वमा राष्ट्रपति परम्परागत रूपमा हनुमानढोकास्थित गद्दी बैठकमा जीवित कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने प्रथा रहिआएको छ।

इन्द्रजात्रा भव्य बनाउन विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन हुने गर्छन्। यसअन्तर्गत भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार नाच तथा पुलुकिसी (ऐरावत हात्तीको प्रतीक) नाच प्रमुख आकर्षण मानिन्छन्।

जात्रा सुरु भएको आठौं दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गरी लिङ्गो लडाउनुपर्ने विधान छ। काठमाडौं मात्र नभई ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत नेवारी समुदाय बसोबास भएका क्षेत्रहरूमा पनि यो पर्व धुमधामका साथ मनाइन्छ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार