घुमघामको यामः यी हुन् घुम्नलायक १८ गन्तव्य


काठमाडौं । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ । कोही परिवारसहित त कोही साथीसङ्गी मिलेर घुमफिर गर्ने प्रचलन अचेल बढिरहेको छ ।

कुनैबेला विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि यो याममा उल्लेख्य हुन्छ । तपाईँ पनि यो शरद्याममा घुमफिरको योजनामा हुनहुन्छ भने गण्डकी प्रदेशमा रहेका पर्यटकीयस्थल यहाँका लागि उपयुक्त हुनसक्छन् ।

प्रकृति, संस्कृति र साहस ९नेचर, कल्चर र एडभेन्चर० लाई गण्डकी प्रदेशको पर्यटनको मूल आधार मानिन्छ । पोखरालाई पर्यटकीय राजधानीसमेत घोषणा भइसकेको स्थितिमा यहाँ हुने पर्यटकीय गतिविधिले मुलुककै पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्छन् । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै बामे सरेको यस क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ ।

नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै ५० प्रतिशत पर्यटकले गण्डकी प्रदेशको भ्रमण गर्ने गरेको सरकारी तथ्याङ्क छ । यहाँ भित्रिने आन्तरिक पर्यटकको कुनै लेखाजोखा नभए पनि पर्यटकीय सहर पोखरा अधिकांश नेपालीको पहिलो रोजाइ बन्ने गरेको छ । विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्ग, मुस्ताङ उपत्यका, ढोरपाटन सिकार आरक्ष, मनास्लुलगायत गन्तव्यस्थल गण्डकीका पर्यटकीय वैभव हुन् ।

नेपालको पर्यटकीय छविलाई विश्व पर्यटन बजारमा स्थापित गरेका यी गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि आउने गर्छन् । समुन्द्री सतहदेखि एक सय तीन मिटर उचाइमा रहेको नवलपुरको त्रिवेणीदेखि आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालसम्म फैलिएको यो प्रदेश प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले भरिएको छ ।

प्राचिन धर्म, कला र सभ्यताको पनि जननी मानिन्छ, गण्डकी प्रदेश । मिश्रित जातजाति र धर्मवालम्बीहरुको बसोबास रहेको यो प्रदेश साँस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी गण्डकीका साँस्कृतिक धरोहर हुन् । यहाँ रहेका माछापूछ«े, अन्नपूर्ण, धवलागिरि, मनाश्लु जस्ता हिमशृङ्खा, नदी, तालतलैया, झरना आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, तालतलैयाको सहर पोखरा, शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी आदिले गण्डकी प्रदेशको गौरव बढाएका छन् । मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, बागलुङ कालिका भगवती, गलेश्वरधाम, देवघाट, सेतीवेणी, त्रिवेणीधामलगायतका पवित्रस्थलले धार्मिक गन्तव्यको चिनारी बोकेका छन् ।

मध्यकालीन शाहवंशीय इतिहासको साक्षी गोरखा दरबार, उपल्लो मुस्ताङको प्राचिन लोमान्थाङ दरबार र मुक्तिनाथ क्षेत्रका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको छ । साहसिक पर्यटन गतिविधिमा पनि गण्डकीको नाम अघि आउँछ । पवर्त र बागलुङमा पर्ने विश्वकै दोस्रो अग्लो बन्जी, प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता साहसिक खेलले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । देशकै पहिलो पर्यटन गाउँ सिरुबारी पनि यही प्रदेशमा पर्छ ।

स्याङ्जाका रुद्रमान गुरुङले २०५४ मा पहिलोपटक ग्रामिण पर्यटनको अवधारणा नेपाल भित्राउनुभएको थियो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लामा विस्तारित घरबास ९होमस्टे० कार्यक्रमले ग्रामिण पर्यटनको उत्थानमा महत्वपूर्ण टेवा पु¥याएको छ । जनजाति बाहुल्य समुदायमा घरबास सञ्चालित छन् । गाउँले जनजीवन, खानपान, घुमफिर र मौलिक संस्कृति घरबासका आकर्षण हुन् ।

काठमाडौं आसपास
जहरसिंह पौवा
टीका लागएपछि घुम्ने छोटो दुरीको यात्रामा घुम्ने हो भने काठमाडौं उपत्यका पनि थुप्रै स्थानहरू रहेका छन् । काठमाडौंको पूर्वतिरबाट साँखु हुँदै यात्रा गर्न सकिने क्षेत्र हो जहरसिंह पौवा । यो यात्रालाई आफ्नो अनुकुतामा यात्रा गर्दा हुन्छ । समय छ भने जहरसिंहबाट नगरकोटसम्मको यात्रा गरेर फर्किदा रमाइलो हुनसक्छ । यो मार्गमा पर्यटकहरू प्रायः सवारीसाधानबाटै यात्रा गर्ने गर्दछन् । इन्धनबाहेक सामान्य खाजा खर्च नै यो यात्राको बजेट हो ।

सुर्यचौर
सुर्यचौर हाइकिङ गर्ने एउटा अर्को उत्कृष्ट थलो हो । खासै चर्चामा नरहेको यो क्षेत्र नुवाकोटको ककनीसम्म सवारी साधानमा यात्रा गरेर चार घण्टा हिडेपछि बूढानीलकण्ठ क्षेत्रमा आइपुगिन्छ । ककनी पुग्दा फ्रेस माछाको मज्जा लिन सकिने नै भयो । यो मार्गमा सावारी साधानबाहेक सामान्य खर्चबाहेक खाजा खर्च बोक्दा पुग्छ । एक दिन पूरै समय छुट्उँदा राम्रो हुन्छ ।

तारेभिर
गोकर्णेश्वर नगरपालिकामा पर्ने यो क्षेत्र रमाइलो पदमार्ग छ । गोकर्णसम्म सवारीसाधनमा यात्रा गरेर त्यहाँबाट तारेभिरसम्म यात्रा गर्न सकिन्छ ।

पुल्चोकी डाँडा
काठमाडौं उपत्यकाको पूर्व–दक्षिण क्षेत्रमा रहेको पुल्चोकी डाँडा । २५ सय मिटर उचाइबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । छोटो दुरीको यो गन्तव्य रमाइलो छ । फर्किदा गोदावारीमा पनि पस्न सकिन्छ । सामान्य खर्चमा यो यात्रा तय गर्न सकिन्छ ।

चन्द्रागिरि
चन्द्रगिरि स्थापित पर्यकीय क्षेत्र हो । भालेश्वर महादेवको दर्शन गर्न सकिने र रोमाञ्चक दृश्यावलोकन गर्न यो क्षेत्रमा पर्यटक पुग्ने गर्छन् । ४ घण्टाको हाइकिङ र केबलकार दुबैबाट यात्रा गर्न सकिन्छ । यो पनि समान्य खर्चमै यात्रा गर्न सकिन्छ ।

पार्कहरू
काठमाडौं उपत्यका भित्रै घुम्नका लागि विभिन्न पार्क पनि रहेका छन् । टीका लगाएपछि छोटो यात्रा गर्न गार्डेन अफ ड्रिम, त्रिभुवन पार्क, बालाजु २२ धारा पार्क, चिल्ड्रेन पार्क, दहचोक स्थित काजी कालु पाँडेको समाधिस्थल, चम्पादेवी पार्क, स्वीजरल्याण्डपार्क जस्ता पार्कमा पुग्न सकिन्छ ।

उपत्यका बाहिर नजिकका स्थाल
चित्लाङ–इन्द्रसरोबर
दशैंपछि घुम्न जान सकिने क्षेत्र मकवानपुरको चित्लाङ पनि हो । यहाँ पुगेर ‘होम स्टे’ मज्जा लिन सकिन्छ । आन्तरिक पर्यटकका लागि यो क्षेत्र चर्चित थलो हो । यहाँ जान व्यक्तिगत सवारी साधनमै यात्रा गर्दा ठीक हुनेछ । जहाँबाट इन्द्रसरोबर क्षेत्र पनि घुम्न सकिन्छ । यातायातबाहेक ५ हजारले नै यो यात्रा गर्न सकिन्छ । त्यहाँ पुगेर कुन्छाल भिलेज न छुटाउनु होला, यो निकै राम्रो गाउँ मानिन्छ

चिसापानी
बूढानीलकण्ठ वा सुन्दरीजलको बाटो हुँदै चिसापानीमा एक रात बसेर भोटेचौर, जहरसिंह पौवा हुँदै भोलिपल्ट काठमाडौं फर्किन सकिन्छ । बिचमा ढाप ड्याम अवलोकन गर्न त सकिन्छ नै । यति यात्रा गर्न व्यक्तिगत ५ देखि ७ हजार भन्दा धेरै खर्च लाग्दैन ।

पाँचपोखरी
सिन्धुपाल्चोकको पाँचपोखरी ४ दिनका लागि योजना गर्दा ठिक हुनेछ । काठमाडौं नजिकै जिल्ला भएपनि त्यहाँ पुगेर फर्किन सजिलो भने छैन । तर यात्रा भने निकै रोमाञ्चक हुनेछ । धार्मिक तथा पर्यटकीय यो क्षेत्रमा पुग्न कम्तीमा ८ हजार खर्च लाग्छ ।

उपत्यकाबाट केही टाढा
अन्नपूर्ण
अन्नपूर्ण विश्वभर चर्चा कमाएको पदमार्ग हो । आन्तरिक र विदेशी पदयात्रीलाई यो उत्कृष्ट गन्तव्य हुन सक्छ । काठमाडौंबाट अन्नपूर्ण पदमार्गसम्म यात्रा गर्दा ५ देखि १५ दिनसम्मको यात्रा गर्न सकिन्छ । घोरेपानी पुनहिल, मार्दी हिमाल, मुक्तिनाथ मन्दिर, धान्द्रुक क्षेत्र पाँच दिनमा यात्रा गर्न सकिन्छ । अन्नपूर्ण वेस क्याम्प (एबीसी), मुस्ताङ लोमाङथाङ, अन्नपूर्ण सर्किट यी सबै क्षेत्रको यात्रा गर्न कम्तीमा १५ दिन लाग्छ । पदयात्राको सुरुआती स्थानमा पुग्न लाग्ने यातायात खर्चबाहेक दैनिक १५ सयदेखि २ हजार रुपैयाँ लाग्न सक्छ । फर्किँदा मनोरम पोखरामा केही दिन बसेर फ्रेस हुन पनि सकिन्छ ।

खप्तड
घुम्नै पर्ने अर्को क्षेत्र हो खप्तड । यो क्षेत्र प्राकृतिक फाँट तथा धार्मिक हिसावले चर्चामा रहेको छ । खप्तड पुगेपछि खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर केदारढुंगा पुग्नु पर्ने हुन्छ । खप्तड पुग्न काठमाडौंबाट ७ देखि १० दिन छुट्याउनु पर्छ । यहाँ पुग्न व्यक्तिगत २० हजारसम्म बजेट लाग्छ । सामूहिक रुपमा जाँदा केही कम शूल्क लाग्छ ।

अपर मुस्ताङ
नेपालीहरूले कागबेनी पुगेपछिनै मुस्ताङ पुगेको ठान्दछन्, त्यसैले अपर मुस्ताङको वास्तविक दृश्यावलोकन गर्न पाएका हुँदैनन् । अपर मुस्ताङ पुग्न ७–१० दिन छुट्याँउदा राम्रो हुन्छ । यहाँ काठमाडौं–पोखरा–जोमसोम उडान गरेर बाँकी यात्रा हिड्न पनि सकिन्छ । सवारी भाडा सधारी साधान अनुसार फरक पर्छ । पदयात्रा गर्दा दैनिक २५ सयदेखि ३ हजार खर्चसम्म लाग्छ ।

सगरमाथा
एभरेष्ट पदयात्रा गर्ने सोचमा हुनुन्छ भने गोक्यो–री, कालापत्थर, एभरेष्ट बेसक्याम्प, नाम्चे बजारमा जान सकिन्छ । प्रायः नेपालीले यो यात्रा रुचाएका छन् । मार्गमा यात्रा गर्दा समुद्री सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाईसम्म यात्रा गर्नुपर्छ । यात्रा गर्दा ५–१४ दिन लाग्न सक्छ । यातायात खर्चबाहेक यसमा पनि दैनिक २ हजारसम्म खर्च हुन्छ । माउन्टेन फ्याइटबाट सगरमाथाको दृश्यावलोकन पनि गर्न सकिन्छ । यो उडान गर्दा नेपालीका लागि १० देखि १५ हजारसम्म लाग्छ ।

लाङटाङ
रसुवा जिल्लाको लाङटाङ अर्को सहज गन्तव्य हो । ३ हजार ९ सय मिटर हाइटमा रहेको यो पदयात्रामा स्याफुबेसीसम्म सवारीसाधानमा यात्रा गर्नु सकिन्छ । यहाँबाट पैदल मार्ग हुँदै क्यान्जेन गम्बासम्मको यात्रा गर्न सकिन्छ । यहाँ लाङटाङ राष्ट्रय निकुञ्ज हुँदै लाङटाङ हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । ५ दिनमा यात्रा गर्न सकिने यो यात्रामा दैनिक २ हजारसम्म खर्च हुन्छ ।

गोसाईँकुण्ड
रसुवा जिल्लाको गोसाईँकुण्डमा जनै पूर्णिमामा मेला लाग्छ तर अब भने घुम्न जानेहरूको लर्को लाग्छ । ४३८० मिटर हाइटको यो मार्गमा पुग्न ४ दिनमै सकिन्छ । खर्च १० हजारसम्म लाग्छ ।

रारा
३ हजार मिटर उचाईमा रहेको रारा ताल दशैंपछि घुम्न सकिने क्षेत्र हो । मुगु जिल्लामा रहेको यो तालमा पुग्न ६ दिनसम्म लाग्छ । उत्कृष्ट गन्तव्यमा पुग्दा गरिएको खर्च खेरा गएको अनुभव हुँदैन । यहाँका पुग्न सामूहिक रुपमा जाँदा २० देखि २५ हजारसम्म बजेट लाग्न सक्छ ।

पाथीभरा
पाथीभरा नेपालको उत्कृष्ट धार्मिक यात्रा हो । ३ हजार ८ सयमिटर उचाई यात्रा गरेर पाथीभरा मन्दीर पुग्दा सबै थाकान अन्त्य भएको महसुस हुन्छ । किनभने यहाँ पुग्दा मन्दिर मात्रै पुगिन्न, मनोरम हिमशृङखला पनि आँखै अघि अवलोकन गर्न पाइन्छ । ताप्लेजुङ जिल्लामा रहेको यो स्थानमा पुग्न ५ दिन समय छुट्याउँदा हुन्छ । बिचमा इलाम, धरानका चर्चित क्षेत्र घुम्न मन लागे केही दिन थपिन सक्छ । खल्तीमा १८ हजार नगद र हिड्ने साहस भए पाथीभरा पुग्न सकिन्छ ।

बर्दिया
बाघ सहितका जंगली जनावर हेर्ने रहर छ भने तराईको बर्दिया राष्ट्रिय निकुञ्ज झर्दा राम्रो हुनसक्छ । काठमाडौं आसपासबाट जाने हो भने ३,४ दिन लाग्छ । त्यहाँ पुगेपछि नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबई नदी पनि हेर्न पाइन्छ । मानवीय वस्तीमा आएपछि थारु संस्कृतिको मज्जा पनि लिन पाइन्छ । यहाँका लागि १५ देखि २० हजार बजेट छुट्याँउदा सहज हुन्छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार