16.1 C
Kathmandu
Wednesday, March 27, 2024
spot_img

घर बनाइदिने प्रलोभन देखाएर लाखौँको ठगी गरि फरार

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौँ असूल गरी अहिले ती युवा फरार छन् ।

रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय धाइरहेका छन् । सम्मरीमाई गाउँपालिका–७ बस्ने मकसुद मुसलमानले कोटहीमाई, सम्मरीमाई तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक सयभन्दा बढी स्थानीयलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको छ ।

मर्चबारको भैँसागाहन बस्ने उनी आफ्नो छेउछाउका गाउँमा घर बनाइदिने भन्दै विपन्न परिवारलाई आश्वासन दिने र फारम भर्नुपर्ने भन्दै रकम माग गर्दथे । उनले फारम भर्न र अन्य प्रक्रियाका लागि भन्दै प्रतिव्यक्ति रु. एक लाख ५५ हजारसम्म रकम लिने गरेको पीडितहरुले बताएका छन् ।

कोटहीमाई गाउँपालिका–१ सिपवा बस्ने जमिरुन निशाको नौ जनाको परिवार एउटै कोठामा गुजारा गरिरहेको थियो । दैनिकजसो टोलमा आउने मकसुदको प्रलोभनमा उहाँ पर्नुभयो र उहाँले घर बन्ने आशमा कृषि विकास बैंकबाट रु एक लाख आठ हजार कर्जा लिएर मकसुदलाई बुझाउनुभयो । रकम बुझाएदेखि मकसुद सम्पर्कमा नआएको जमिरुनले बताउनुभयो । दैनिक ज्यालादारी गरी खाने उहाँको परिवारलाई अहिले बैंकको ब्याजले पिरोलेको छ ।

रकम लिएको कुनै रसिद वा कागजसमेत नपाएको जमिरुनको भनाइ छ । कोटहीमाई–१ कै परस्पुर बस्ने ८० वर्षीय मंहगु हरिजन र उहाँकी श्रीमती सिगारीले ज्येष्ठ नागरिक भत्ताबाट पाएको रकम घर बनाइदिने आश्वासपछि प्रलोभनमा परेर रु. ५४ हजार मकसुदलाई बुझाएको जानकारी दिनुभयो ।

मकसुदले रकम, नागरिकताको प्रतिलिपि र फोटो सङ्कलन गर्न तथा जग्गा नापजाँच गर्न कर्मचारीसमेत राखेको पीडितले बताएका छन् । ठगीमा परेका पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा गत कात्तिक २१ गते नै यसबारे उजूरी दिएका छन् । सोही दिन जिल्ला प्रशासन कार्यालयले सक्कलै निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय मर्चवारलाई निज मकसुदलाई पक्राउ गर्न पत्राचार गरेको थियो । प्रक्रियामा गए पनि न्याय नपाएको पीडितको आरोप छ । पत्र आए पनि प्रहरीले मकसुदलाई पक्राउ गर्न तदारुकता नदेखाएको निवेदक प्रेमलाल कोहारको आरोप छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका प्रेमलाल कोहार, माया कुर्मी, गुडिया लोध र गीता हरिजनलगायतले संयुक्त निवेदन दिनुभएको छ । पक्की घरको आशमा ऋण लिएर मकसुदलाई जनही रु. एक लाख ५५ हजार दिएको निवेदकहरुको भनाइ छ । यस विषयमा इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख, प्रहरी निरीक्षक तेजबहादुर खत्रीले पटक–पटक प्रहरी मकसुदको घर पठाउँदा पनि फेला पर्न नसकेको बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles