Breaking कृषि समाचार

रैथाने बाली प्रवद्र्धन–संरक्षणमा आकर्षण

Written by janaawaaj

काभ्रेपलाञ्चोक, २० असार (रासस) ः परम्परागतरुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानमा काभ्रेपलाञ्चोकको एक स्थानीय तहले यस वर्ष चासो दिएको छ । पाँचखाल नगरपालिकाले स्थानीयस्तरमा होमस्टे सञ्चालन गर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
नगरको १, ५, ८ र ११ नं वडामा रैथाने बालीका रुपमा रहेको कोदो, फापर, जौ, स्थानीय मकैलगायतका बाली संरक्षण तथा रैथाने बालीको प्रयोग गर्ने गरी ‘होमस्टे’ सञ्चालन गर्नेगरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

नगरको कृषि शाखाका अनुसार हालै नगरमा चार वटा वडामा क्लस्टर बनाइ २० समूहमार्फत रैथाने बीउ, हाते ट्र्याक्टर, सामग्री जोख्ने मेसिन तथा अन्न राख्ने विशेष खालका (किरा नलाग्ने) बोरा वितरण गरिएको छ । “रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानअन्तर्गत प्रारम्भिक चरणमा २० समूहलाई भटमासको बीउ वितरण गरिएको छ”, नगर कृषि शाखाप्रमुख ईश्वर अधिकारीले भन्नुभयो ।

बागमती प्रदेशको सहयोगमा सञ्चालन गरिएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण कार्यक्रमका लागि नगर कार्यपालिकासँगै चारै वडाका अध्यक्ष तथा स्थानीय कृषकले निक्कै चासो दिएका हुन् । नगर उपप्रमुख सूर्यमाया दनुवारले भन्नुभयो, “रैथाने बाली प्रवद्र्धन एवं संरक्षणमा चुनौती छ तर सबै मिलेर यसको संरक्षणमा लाग्ने हो ।” नगरको ५ नं वडास्थित खावा होमस्टेमा पाहुनालाई रैथाने बालीबाट बनेका परिकार खुवाइँदै आइएको छ ।

यसअघि रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको केही स्थानीय तहका खेतबारीमा रैथाने बाली लगाइएको छ । कृषि विभागमार्फत कृषि ज्ञानकेन्द्र धुलिखेलले दुई जिल्लामा यसको पकेट क्षेत्र घोषणा गरी रैथाने बाली विकास प्रवद्र्धन–संरक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

दुवै जिल्लाको पकेट क्षेत्रमा कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको रैथाने बाली जिल्ला सङ्घका अध्यक्ष गोपाल तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “रैथाने बाली विस्तारका कार्यक्रमको आवश्यकता छ, यसप्रति सम्बन्धित निकायको ध्यान जानुप¥यो ।” उहाँले रैथाने बालीको उत्पादन वर्षैपिच्छे बढ्दो परिमाणमा रहेको बताउनुभयो । उहाँका अनुसार खेतबारीमा रैथाने बाली लगाउने आआफ्नै मौसम हुन्छ ।

पोषणको दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमीलगायतका बाली पर्दछन् । काभ्रेपलाञ्चोकमा दुई कृषक समूह तथा सिन्धुपाल्चोकमा एक कृषक समूहले तोकिएको पकेट क्षेत्रमा रैथाने बाली लगाएका छन् ।

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ र चौँरी देउराली गाउँपालिका–८ तथा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ मा रैथाने बाली विकास प्रवद्र्धन कार्यक्रम सुरु गरिएको थियो । यसका लागि स्थानीय कृषि प्राविधिकलाईसमेत आवश्यक तालिम दिइएको थियो । रैथाने बाली प्रवद्र्धन एवं संरक्षण कार्यक्रमअन्तर्गत रैथाने बालीको बीउ निःशुल्करुपमा कृषकलाई वितरण गर्दै रैथाने बालीअनुसार ८५ प्रतिशतसम्म अनुदानमा मेसिनरी औजार दिइएको केन्द्रका बागबानी विकास अधिकृत उमेश सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार अन्य क्षेत्रका कृषकलाई यसप्रति आकर्षण गराउन काभ्रेपलाञ्चोकमा बागमती प्रदेशबाट आगामी वर्षका लागि रु एक करोड बजेट विनियोजन भएको छ । उहाँले पोषणको दृष्टिले महत्वपूर्ण मानिएको तर हाल नेपाली भान्छामा कमै प्रगोग हुने गरेकाले रैथाले बालीलाई प्रवद्र्धन एवं संरक्षण गर्न यस्तो कार्यक्रम लागू गरिएको हो । “लापोन्मुख अवस्थाका रैथाले बालीलाई नयाँ कृषि कार्यक्रममार्फत प्रवद्र्धन गर्नेछौँ, यसले कुपोषणबाट मुक्त हुन तथा मानिसको स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्दछ”, सापकोटाले भन्नुभयो ।
रैथाने बालीको उत्पादन बढाई बजारीकरणका लागि कृषकलाई सहयोग गर्न विसं २०७६ मा कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक संरक्षण केन्द्र स्थापना गरिएको थियो । यसैका माध्यमबाट लोपोन्मुख रैथानेबाली प्रवद्र्धन–संरक्षण गरिने कार्यक्रम बनाइएको हो ।

काभ्रेपलाञ्चोकमा मात्रै वार्षिक मकै ४० हजार ८०८ मेट्रिकटन, धान १८ हजार ६८३ मेट्रिकटन, गहुँ १६ हजार ५६८ मेट्रिकटन, कोदो दुई हजार ६७३ मेट्रिकटन र फापर ५४६ मेट्रिकटन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । काभ्रेपलाञ्चोक खाद्यान्नबाट आत्मनिर्भर भएको तथा खाद्यान्न स्थिति सन्तलुनमा तीन हजार ४१ मेट्रिकटन बढी उत्पादन हुने गरेको छ । रैथाने बाली प्रवद्र्धन गर्दा खाद्यान्न सन्तलुन स्थिति बढ्दै जाने अपेक्षा गरिएको छ ।

कृषि विभागले प्राङ्गारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रमअन्तर्गत रैथाने बाली प्रवद्र्धन तथा संरक्षण कार्यक्रम लागू गरेको हो । अनुसन्धान र प्रसारमा कम जोड दिइएको यस्ता बालीलाई मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षाको आधार बनाइने लक्ष्य लिइएको छ । जलवायु अनुकूलित बाली, पौष्टिकताले भरिपूर्ण, उच्च प्रतिस्पर्धी क्षमता, मूल्य अभिवृद्धि तथा विविधीकरणको सम्भावना, बेजोड स्वाद, गुणस्तर उच्च, कृषि पर्यटन, कम लगानी, सिमान्त जमिनमा गर्न सकिने तथा ‘क्लाइमेट स्मार्ट भिलेज’ बन्ने भएकाले यसको प्रवद्र्धन–संरक्षण गर्नुपर्ने उद्देश्य हो ।

रैथाने बालीमा धान र गहुँको तुलनामा प्रोटिन र फलामतत्व बढी हुने भएकाले यसप्रति कृषकलाई आकर्षण गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ । बालीविज्ञका अनुसार रैथाने बाली रोपेपछि त्यति रेखदेख गर्न नपर्ने भएकाले सजिलो हुने, जुनसुकै हावापानीमा कम लागतमा पनि उत्पादन हुन्छ ।

यस्तै विभागका अनुसार कोदोमा २८८ मिलिग्राम क्याल्सिएम तथा ४९ दशमलव २ प्रतिशत फलाम पाइन्छ भने फापरमा ६४ मिलिग्राम क्याल्सिएम पाइन्छ । यस्तै चामलमा १० मिलिग्राम क्याल्सिएम र जिरो दशमलव सात प्रतिशत मात्र फलाम पाइन्छ ।

रैथाने बाली विकास कार्यक्रमलाई निरन्तरता दिन काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका अन्य स्थानीय तहसँग समन्वय गर्दै जाने योजना बनाइएको छ । विशेषगरी गाउँमा सञ्चालित होमस्टेमा रैथाने बालीको परिकार दिन सकिने भएकाले उनीहरुलाई कार्यक्रममा समेटिने सापकोटाले बताउनुभयो ।

रैथाने बाली उत्पादन बढ्दै गएपछि यसको बजारीकरणका लागि युवा कृषिमञ्च तथा समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारीले चासो देखाउँदै आएको छ । मञ्चका अध्यक्ष जयराम सिग्देलका अनुसार स्वस्थ एवं प्राङ्गारिकरुपमा उत्पादित रैथाने कृषिउपजलाई बजारीकरण गर्न संस्था तयार छ ।

About the author

janaawaaj