26.1 C
Kathmandu
Friday, April 19, 2024
spot_img

उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय

प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको बैठकले सप्तकोसी नदीको कटानले प्रभावितको उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ ।

प्रदेश नं १ विपद् व्यवस्थापन समितिका संयोजक प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । बैठकले कोसी कटानलाई नियन्त्रण गर्ने, बक्रम नदी नियन्त्रण कार्यालयमार्फत तत्काल काम सुरु गर्ने, उद्धार तथा राहतमा प्रदेशस्तरीय विपत् व्यवस्थापन समिति, जिल्लास्तरीय विपत् व्यवस्थापन समिति र नगरस्तरीय विपत व्यवस्थापन समितिले समन्वय गरेर काम गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै बाढीको जोखिम र प्रभावित भएका बस्तीका स्थानीयवासीलाई हस्तान्तरण गरी सुरक्षित रूपमा बसोबास गराउन वडास्तरीय व्यवस्थापन तथा टोल विकास समितिलाई परिचालन गर्ने निर्णय भएको
छ । त्यस्तै सरोकारवाला पक्षसँगको समन्वय र सहयोग लिएर काम गर्ने, अस्थायी बसोबासका लागि विद्यालय, त्रिपाल, खाद्य र गैर खाद्य, शौचालय, सुरक्षाको व्यवस्थापनका लागि कार्य गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकमा प्रदेश नं १ का भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्की, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुनसरीका प्रमुख जिल्ला अधिकारी यादव, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराम दाहाल, बेलका नगरपालिका प्रमुख अशोक कार्की, सुनसरी बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, सप्तरीको सप्तकोसी नगरपालिका प्रमुख, कञ्चनपुर नगरपालिका प्रमुख, तीन वटै सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

बाढीबाट जोखिममा र प्रभावित भएका स्थानीयवासीलाई सुरक्षित स्थानमा ल्याउने कार्य जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली सक्रिय रूपमा उद्धारमा लागि परेको छ ।

यसैबीच सप्तकोसी नदीमा आएको बाढीपीडितका लागि प्रदेश सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत पठाएको हो । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वडाको मानवबस्तीमा प्रवेश गरेर तहसनहस पार्दा एक हजार ५०० घरपरिवार विस्थापित भएका छन्् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहतका सामग्री पठाइसकेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles