काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार राति काठमाडौंस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ। सुप्रिम सहकारी प्रकरणसँग सम्बन्धित मुद्दामा उनलाई नियन्त्रणमा लिइएको हो।
शनिबार बिहान यती एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा ल्याइएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको छ।
शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबार उनलाई अदालतमा उपस्थित गराइनेछ।
यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई सुप्रिम सहकारी प्रकरणमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, सो आदेशविरुद्ध लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दिएका थिए।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतको धरौटी आदेश बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।
अदालतले मुद्दाको प्रकृति, पीडितको अवस्था, र सन्दर्भअनुसार धरौटीको सट्टा थुनाको आवश्यकता रहेको भन्दै पुर्पक्ष थुनाको आदेश दिएको उल्लेख छ।