काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कारसहित डुबेका दुई जनाको शव निकालिएको छ।सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव निकालेका हुन् । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई मंगलबार बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।
कारमा सवार गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव फेला परेको हो ।कारमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर–२ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए।
उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको थियो। पोखरीमा डुबेको कार निकाल्ने प्रयास भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।