• २०८२ मङ्सिर २७ गते शुक्रवार
  • Preeti To Unicode

चीनमा एचएमपीभी भाइरसको प्रकोप: बालबालिकामा जोखिम उच्च


काठमाडौं: चीनमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) को प्रकोपले विशेष गरी बालबालिकालाई गम्भीर रूपमा प्रभावित बनाएको छ। चीनका उत्तरी क्षेत्रहरू साथै बेइजिङ, चोङकिङ र ग्वाङ्डोङ प्रान्तमा यस भाइरसका धेरै केस रिपोर्ट भएका छन्।

विशेष गरी १४ वर्ष मुनिका बालबालिकामा यसको असर बढी देखिएको छ। नेपालका स्वास्थ्य विज्ञहरूका अनुसार यो भाइरस नेपालका लागि नयाँ भने होइन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार नेपालमा एचएमपीभी भाइरस पहिलो पटक सन् २०१४ मै देखा परिसकेको थियो।

एचएमपीभी भाइरसका लक्षण र जोखिम

यस भाइरसको संक्रमणका मुख्य लक्षणहरूमा रुघाखोकी, ज्वरो, नाक बन्द हुने र सास फेर्न गाह्रो हुने समावेश छन्। यदि संक्रमण गम्भीर बनेमा यो ब्रोंकाइटिस वा निमोनिया जस्तो समस्या निम्त्याउन सक्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यदि भाइरस ‘म्युटेसन’ भएमा यसको जोखिम अझै घातक हुन सक्ने सम्भावना रहन्छ।

फैलिने तरिका

एचएमपीभी भाइरस मुख्यत: संक्रमित व्यक्तिको हाँच्छ्युँ वा खोक्दा निस्कने थुकका कणबाट फैलिन्छ। सतहमा रहेका कणहरू छोएर अनुहार, नाक वा मुख छोएमा पनि संक्रमण हुन सक्छ। प्रत्यक्ष सम्पर्क जस्तै हात मिलाउने वा अँगालो हाल्ने क्रममा पनि यो भाइरस सजिलै सर्न सक्छ।

रोकथामका उपाय

स्वास्थ्य विज्ञहरूले भाइरसको संक्रमणबाट जोगिन केही सावधानी अपनाउन सुझाव दिएका छन्:

  • भिडभाडमा नजानु।
  • मास्क लगाउनु।
  • साबुनपानीले हात धुने र सेनिटाइजर प्रयोग गर्ने।
  • खोक्दा वा हाँच्छ्युँ गर्दा मुख छोप्ने।
  • संक्रमित व्यक्तिले आफ्ना भाँडाहरू अरूसँग साझेदारी नगर्ने।
  • घरभित्रका सतहहरू नियमित रूपमा सफा गर्ने।

उपचारको अवस्था

हालसम्म एचएमपीभी भाइरसका लागि कुनै विशेष एन्टिभाइरल औषधि वा खोप उपलब्ध छैन। संक्रमित व्यक्तिलाई लक्षणअनुसारको उपचार, जस्तै ज्वरो वा रुघाखोकीको औषधि दिने गरिन्छ।

इतिहास

यो भाइरसको उत्पत्ति करिब २ सयदेखि ४ सय वर्ष पहिले चराबाट भएको मानिन्छ। सन् २००१ मा यो भाइरसलाई मानिसमा संक्रमण गर्न सक्ने भाइरसका रूपमा पत्ता लगाइएको थियो।

चीनमा एचएमपीभी भाइरसको संक्रमणको दर तीव्र रूपमा बढिरहेको अवस्थामा सचेतना, सावधानी र समयमै चिकित्सकको परामर्श लिनु महत्वपूर्ण छ। स्वास्थ्य मापदण्ड पालना गरेर यस भाइरसको संक्रमण रोकथाम गर्न सकिन्छ। नेपालमा यस भाइरसको जोखिमलाई ध्यानमा राख्दै समयमै सतर्कता

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार