17.1 C
Kathmandu
Thursday, March 28, 2024
spot_img

खाद्य डिभिजनद्वारा अनुगमन

विश्व खाद्य स्वच्छता दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले अनुगमन सुरु गरेको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ साताव्यापीरुपमा मनाइने खाद्य स्वच्छता दिवसको अवसरमा कार्यालयले दमौलीमा सञ्चालित मिठाई पसल, आइसक्रिम उद्योग, खाजाघर र खाद्य उद्योगमा अनुगमन गरेको हो ।

कार्यालयले उद्योगलगायतमा अनुगमन गरेको डिभिजन प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ । उहाँका अनुसार अनुगमनलाई निरन्तरता दिइनेछ ।

साथै अनुगमनका क्रममा खाद्य पदार्थ तार्न प्रयोग गरिने तेलको मापनसमेत गरिएको छ । टोटल पोलारी मिटरमा २० प्रतिशतभन्दा कम भएमा हरियो रङ, २० देखि २४ प्रतिशतसम्म भएमा पहेँलो रङ र २४ प्रतिशतभन्दा बढी भएमा रातो रङ देखाउनेछ । २० प्रतिशतभन्दा कम देखिएमा प्रयोग गर्न मिल्ने, २० देखि २४ प्रतिशत देखाएमा अन्तिम प्रयोग भनेर बुझ्नुपर्ने र २४ प्रतिशतभन्दा माथि देखिएमा प्रयोग गर्न नमिल्ने जनाइएको छ ।

यही जेठ २४ गते मनाइने खाद्य स्वच्छता दिवसको अवसरमा कार्यालयले विभिन्न माध्यमबाट असल खानपान प्रयोग गर्न सर्वसाधारणलाई सचेतना जगाउँदै आएको छ । हरेक दिन विभिन्न थरीका खानेकुरा खान, पर्याप्त मात्रामा फलफूल र हरियो सागपात खान, हरेक दिन दाल र गेडागुडी खान, दूध तथा दुग्धजन्य खानेकुरा खान, परम्परागत तथा स्थानीयस्तरमा पाइने पौष्टिक खाना खान, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिलो खानेकुरा खान आग्रह गरिएको छ ।

कार्यालयले खाना सुरक्षितरुपले तयारी एवं बिक्री वितरण गर्न विभिन्न उपाय अपनाउन सचेत गराउँदै आएको छ । सरसफाइ राख्न, स्वच्छ पानी र खाद्यवस्तु मात्र प्रयोग गर्न, राम्ररी पकाउन, पकाएको र नपकाएको खाद्यवस्तुलाई छुट्टाछुट्टै राख्न र खानालाई सुरक्षित तापक्रमा राखी संरक्षण गर्न आग्रह गरिएको डिभिजन प्रमुख पोख्रेलले बताउनुभयो ।

दमौलीमा कार्यालय रहेको डिभिजनले तनहुँसहित गोरखा, लमजुङ र नवलपुरमा अनुगमन गर्दैै आइरहेको छ । कार्यालयले अनुगमनका साथसाथै खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठि, वडास्तरमा सचेतना कार्यक्रम, होटल तथा रेष्टुराँको वर्गीकरण गर्दै आइरहेको छ ।

कार्यालयले उपभोग्य मिति समाप्त भएका वा हुन लागेका खाद्य पदार्थको सञ्चय तथा बिक्री वितरण नगर्न, बढी रङ्गीन, सडेगलेका, झिङ्गा भन्केका फोहर अस्थामा राखिएका खाद्य पदार्थ प्रयोग नगर्न, सडक पेटीमा खुला अवस्थामा राखी कुनै पनि खाद्य पदार्थ बिक्री वितरण नगर्न सम्बन्धित सबैलाई सचेतना जगाउँदै आएको छ ।

रोपियो बिरुवा

विश्व वातावरण दिवसको अवसरमा तनहुँका सबै स्थानीय तहमा वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालयलगायत सामुदायिक वनको सहभागितामा सबै स्थानीय तहमा वृक्षरोपण गरिएको हो ।

‘पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको सवडिभिजन वन कार्यालय व्यासका प्रमुख एवं सहायक वन अधिकृत नारायण कोइरालाले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय र अकला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा उक्त वनमा चाप र तेजपातका बिरुवा रोपिएको छ । उहाँका अनुसार २५ चाप र ३५ तेजपातका बिरुवा रोपिएको छ । वृक्षरोपण गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले बिरुवा रोप्नुका साथै संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

यसैगरी देवघाट गाउँपालिकास्थित तीनवटा सामुदायिक वनमा विभिन्न प्रजातिका २०० बिरुवा रोपिएको छ । कालिका सामुदायिक वन, चक्रवर्ती वन र सीता सामुदायिक वनमा बिरुवा रोपिएको छ । ऋषिङ गाउँपालिकास्थित शिशरामण्डली सामुदायिक वनमा खयर, सिसौ, बडहरको बिरुवा रोपिएको छ । खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनी अड्डामा पनि सव डिभिजन वन कार्यालय शुक्लागण्डकीको सहयोगमा बिरुवा रोपिएको छ । जेसीआई व्यास नगरले व्यास–१ स्थित निर्मल माविमा पीपल, कपुरसहितका २५ थान बिरुवा रोपेको छ । जेसीआई भानुनगरले भानु–२ स्थिथ शहीद उद्यानमा विभिन्न प्रजातिका ४५ बिरुवा रोपण गरेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles