समाचार

कोभिडले सौराहाका दक्ष जनशक्ति पलायन

Written by janaawaaj

तीनदशक भन्दाबढी समय सौराहाका होटल व्यवस्थापनमा बिताउनुभएका रामहरि देवकोटा कोभिडसँगै विस्थापित हुनुभएको छ । सौराहामा ३२ वर्षसम्म विभिन्न होटलको व्यवस्थापन हेर्नुभएका उहाँ कोभिडले होटल बन्द भएपछि पेशा नै छाडेर गाउँ फर्कन बाध्य हुनुभएको हो । विसं २०४७ मा बाघमारा वाइल्डलाइफ रिसोर्टबाट व्यवस्थापनको काम थाल्नुभएका देवकोटा सोही होटलमा २० वर्ष, रोयल टाइगर र होटल जङ्गल क्राउनमा पाँच÷पाँच वर्ष व्यवस्थापकको भूमिकामा रहनुभयो ।

कोभिड बढेसँगै युनिक वाइल्ड रिसोर्टबाट ३२ वर्षको अनुभव अन्त्य गर्दै आफ्नै गाउँ गोरखामा फर्किएर कृषि काम थाल्नुभएका उहाँ भन्नुहुन्छ, “अहिले म गोरखाको पालुङ्टारमा भँैसी, बाख्रा र खेतीपातीमै भुलिरहेको छु ।” देवकोटाजस्तै धेरैको रोजगारी कोभिडले खोसेको थियो । लामो समयसम्म अनुभव बटुलेका दक्षजनशक्ति विस्थापित हुँदा अहिले होटल सञ्चालनमा कठिनाइ भएको छ ।

क्षेत्रीय होटल सङ्घका जिल्लाअध्यक्ष दीपक भट्टराई ४० प्रतिशत दक्ष जनशक्ति कोभिडसँगै विस्थापित भएको बताउनुहुन्छ । कतिपय विदेशिएका छन् भने कतिपय स्वरोजगारीमा लागेका छन् । उहाँ भन्नुहुन्छ, “काम गर्ने दक्षजनशक्ति पाउनै मुस्किल भयो ।” अनुभवी कुक, वेटर, हाउस किपिङ, म्यानेजर, मालीजस्ता महत्वपूर्ण पदका कर्मचारी र मजदुर नपाउँदा होटल सञ्चालनमा नै कठिन भएको अध्यक्ष भटृराईको भनाइ छ । विभिन्न देशबाट आउने पर्यटकका लागि त्यसैअनुसारको खाना खुवाउनुपर्ने हुन्छ । भाषा पनि बुझ्नुपर्ने हुनाले सामान्य कर्मचारीलाई काम गर्न होटलमा कठिन हुन्छ ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे धेरैले पेशा नै परिवर्तन गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आवश्यकताअनुसार जनशक्ति पाउनै मुस्किल छ ।” धेरैले स्वरोजगारका काम थालेका छन् । कतिपय कृषिमा लागेका छन् । गल्फ र अन्य देश जानेको सङ्ख्या पनि ठूलै रहेको घिमिरेको भनाइ छ । सौराहाको स्थानीय एक विद्यालयमा सिटिइभिटीको डिप्लोमास्तरको होटल म्यानेजमेन्टको पढाइ हुँदै आएको छ । केही होटलले त्यही जनशक्तिबाट काम चलाएका छन् । सङ्घकै पहलमा कुक, वेटर, वेट्रेस, हाउस किपिङको पनि तालिम दिन लागिएको छ । सबैभन्दा ठूलो समस्या कुकको भएको व्यवसायीहरु बताउँछन् । पूर्णरुपमा काम जानेका जनशक्ति पाउन नै कठिन हुने गरेको सबैको गुनासो छ ।

सङ्घका महासचिव गुणराज थपलिया राम्रो जनशक्तिलाई जति रकम दिन्छुभन्दा पनि पाउन कठिन भएको बताउनुहुन्छ । बीचको समयमा फेरि कोभिड आउँछ कि भन्ने डरमा व्यवसायी रहेका थिए । अबका दिनमा होटल चल्छ भन्नेमा सबै पुगेका छन् । उहाँ भन्नुहुन्छ, “काम गर्ने जनशक्ति हराए । खोज्दा पनि पाउन मुस्किल भयो ।” पहिले होटलमा काम गर्नेहरु दुई वर्षसम्म बेरोजगार हुँदा फरक फरक पेशामा लागिसकेकाले फर्कन तयार नभएको महासचिव थपलियाको भनाइ छ ।

सौराहामा १२० होटल सङ्घमा दर्ता भएका छन् । ती होटलमा छ हजार ५०० भन्दाबढी बेड छन् । त्यहाँ पाँच हजार ५०० मजदुरले काम गर्दथे । अहिले झण्डै आधा हाराहारीले होटल धानिरहेका छन् । क्रमशः पर्यटक बढ्ने अपेक्षा गरिएको छ । यतिबेला दैनिक ४०० हाराहारी पर्यटक थपिने गरेको सङ्घको अनुमान छ । कोभिडभन्दा अघि यो सङ्ख्या दुई हजार हाराहारी थियो । व्यवसायीहरु अब क्रमशः पर्यटक बढ्नेमा विश्वस्थ छन् ।चितवन राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु र समुदायमा थारु संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहाका होटलमा ती पर्यटकका लागि अधिकांश स्थानीय मजदुर कर्मचारीलाई रोजगारी दिने गरिएकाले कम पारिश्रमिकमा काम लगाउन सकिने गरिएको थियो । स्थानीयवासीलाई घरपायक हुँदा कम तलबमा काम गर्दा पनि समस्या हुँदैनथ्यो ।

About the author

janaawaaj