काठमाडौँ -त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा भूकम्पका कारण केही समय प्रभावित भएकाले १५ मिनेट समय थप गरेको छ।
त्रिवि प्रशासनका अनुसार, परीक्षा बिहान ७ बजे सुरु हुने तालिका थियो। तर बिहान ६:५० मा नेपाल–चीन सीमा क्षेत्र नजिक ७ म्याग्निच्युडको भूकम्प जाँदा परीक्षा सञ्चालन केही समय प्रभावित भएको थियो। यो अवस्थालाई मध्यनजर गर्दै परीक्षार्थीहरूको सुविधाका लागि समय थप गरिएको हो।
त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले सबै परीक्षा केन्द्रहरूलाई समय थपको सूचना सर्कुलरमार्फत पठाइएको जानकारी दिए। उनका अनुसार, त्रिविको शीघ्र निर्णयले परीक्षामा ठूलो अवरोध हुन दिएन।
भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गे काउन्टीमा रहेको थियो। यसको कम्पन नेपालमा पनि बिहान ६:५० मा महसुस गरिएको थियो।
भूकम्पका कारण केही परीक्षार्थीहरूमा अलमल भए पनि हाल परीक्षा सामान्य रूपमा सञ्चालन भइरहेको छ। त्रिविको समय थपको निर्णयले परीक्षार्थीहरूलाई राहत प्रदान गरेको बताइएको छ।