काठमाडौँ – पर्सा जिल्लाको ठोरी नाकास्थित अमृतधारा छोटी भन्सार कार्यालय विगत तीन महिनादेखि बन्द हुँदा चितवनको माडी क्षेत्रसहित स्थानीय पर्यटन र अर्थतन्त्रमा ठूलो असर परेको छ।
पुस १६ गतेदेखि बन्द भएको यो भन्सार कार्यालय अझैसम्म सञ्चालनमा आउन सकेको छैन। स्थानीयवासी र व्यवसायीहरूका अनुसार कार्यालय किन बन्द गरिएको हो भन्ने स्पष्ट जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन।
ठोरी गाउँपालिका अन्तर्गतको यो नाका भारतीय पर्यटकहरूका लागि छोटो र सुविधाजनक मार्गका रूपमा परिचित थियो। दैनिक करिब ४ सयभन्दा बढी भारतीय पर्यटक यही नाकाबाट नेपाल प्रवेश गर्ने गरेका थिए। हाल बुटवल–नारायणगढ सडकखण्डको मर्मतका कारण वैकल्पिक मार्गको रूपमा ठोरी नाका झन् महत्वपूर्ण बनेको थियो।
तर, भन्सार कार्यालय बन्द भएपछि पर्यटकहरूलाई वीरगञ्ज पुगेर भन्सार प्रज्ञापत्र लिनुपर्ने बाध्यता सिर्जिएको छ, जसले समय र प्रक्रियालाई झन् जटिल बनाएको छ। यस अवस्थाले माडी क्षेत्रका होटल, होमस्टे तथा अन्य पर्यटन व्यवसायहरूमा प्रत्यक्ष असर परेको छ। व्यवसायीहरूले लाखौँ रुपैयाँ बराबरको नोक्सानी भोग्नुपरेको गुनासो गरेका छन्।
व्यवसायीहरू सरकारी उदासिनताप्रति असन्तुष्ट छन्। उनीहरूका अनुसार कर्मचारी अभाव र भन्सार मर्ज गर्ने नीति जस्ता कारण देखाउँदै ठोरी नाका लामो समयदेखि उपेक्षित हुँदै आएको छ। केही व्यवसायीहरूले संगठित गिरोहको मिलोमतोमा जानाजान नाका नचलाउने प्रयास भइरहेको आशंका समेत व्यक्त गरेका छन्।
सार्वजनिक तथ्यांकअनुसार, आठ महिनाको अवधिमा ठोरी भन्सारमार्फत १० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको थियो भने करिब डेढ लाख भारतीय पर्यटक नेपाल प्रवेश गरेका थिए। यस्तो प्रभावशाली नाका बन्द हुँदा सरकारले राजस्व गुमाउनुका साथै नेपालको पर्यटन विकासमा समेत बाधा पुगेको छ।
यस सन्दर्भमा माडी नगरपालिका र ठोरी गाउँपालिकाका प्रमुखहरूले अर्थमन्त्रीसँग भेट गरी ठोरी भन्सार कार्यालय यथासिघ्र सञ्चालनमा ल्याउन माग गरेका छन्। उनीहरूले स्थानीय पर्यटन र आर्थिक गतिविधि पुनः सशक्त बनाउनेतर्फ सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
साथै, ठोरी नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूका लागि अनिवार्य प्रज्ञापत्रको प्रावधानले समेत समस्या थपेको व्यवसायीहरूको गुनासो छ। उनीहरूका अनुसार, यस्तो प्रक्रियाले विदेशी पर्यटकहरूलाई अनावश्यक झन्झटमा पारिरहेको छ।