• २०८२ फाल्गुन २९ गते शुक्रवार
  • Preeti To Unicode

भारतको हवाई हमला र चीनको प्रतिक्रिया: दक्षिण एशियामा तनाव थपिने संकेत


काठमाडौं — भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रमा हवाई हमला गरेको छ। यस सैन्य कारबाहीले दक्षिण एशियामा पुनः तनावको अवस्था सिर्जना गरिरहेको बेला चीनले यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय हवाई कारबाहीलाई ‘खेदजनक’ भनेर सम्बोधन गर्दै भारत र पाकिस्तान दुबैलाई संयमता अपनाउन आग्रह गरेको छ। “हामी दुबै पक्षलाई आह्वान गर्दछौं कि उनीहरूले शान्तिपूर्ण मार्ग रोजून् र स्थिति अझ जटिल हुने खालका कुनै पनि कदम चाल्न नदिन,” चीनको भनाइ छ।

चीनले भारत–पाकिस्तानबीच पछिल्लो समय देखिएको सैन्य तनावप्रति गम्भीर ध्यान दिएको बताएको छ। उसले दुबै देशबीच वार्ता तथा कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

यसैबीच, चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने आफ्नो अडान पनि स्पष्ट पारेको छ। उसले क्षेत्रीय स्थायित्व र सुरक्षाको पक्षमा रहनुपर्ने आवश्यकता औंल्याउँदै आतंकवादका विरुद्ध सशक्त कदम चाल्न सबै मुलुकहरूलाई आग्रह गरेको छ।

क्षेत्रीय विश्लेषकहरूका अनुसार भारतको हालको कदम र त्यसप्रतिको चीनको प्रतिक्रिया सँगै दक्षिण एशियाको सामरिक अवस्था थप जटिल हुन सक्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार