• २०८२ कार्तिक ८ गते शुक्रवार
  • Preeti To Unicode

सुदूरपश्चिममा माओवादीको नेतृत्व विवाद अझ गहिरियो, प्रचण्डको पहल पनि निष्फल


काठमाडौं— नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्वको विवाद अझै समाधान हुन सकेको छैन। लामो समयदेखि चल्दै आएको विवादले पार्टीभित्रको गहिरो असन्तुष्टि र गुटबन्दी झनै तीव्र बनाउँदै लगेको छ।

दुई पक्षबीच जारी तनाव समाधान गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि दुवै समूहका नेताहरूलाई काठमाडौंको खुमलटारस्थित पार्टी कार्यालयमा बोलाएर छलफल गर्ने प्रयास गरेका छन्। तर, विगतका प्रयासहरू जस्तै यो पहल पनि निष्फल हुने देखिएको छ।

२०८० सालको फागुनमा खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई सुदूरपश्चिम संसदीय दलको नेता बनाइएको थियो। तर त्यसपछि पार्टीले चार पटक परिपत्र पठाएर पनि प्रचण्डको निर्देशनअनुसार भट्टलाई पुनः नेता बनाउने निर्णय कार्यान्वयन भएको छैन।

दुवै पक्षले आ–आफ्नो अडान यथावत राख्दै आएका छन्।
भट्ट पक्षको आरोप छ कि धामीले पार्टीको केन्द्रीय निर्देशनको उल्लंघन गरेका छन् र त्यसैले अब विवादको समाधान पनि केन्द्रबाटै हुनुपर्छ।
धामी पक्ष भने आफूहरू विधिसम्मत ढंगबाट चयन गरिएको दाबी गर्दै विधिसम्मत ढंगले मात्र हट्नुपर्ने अडानमा छ।

धामी पक्षका समर्थक सांसदहरूमा अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक, र झपटबहादुर साउद रहेका छन्।
भट्ट पक्षका समर्थकहरूमा गीतादेवी माल, रमेशसिंह धामी, शिवसिंह ओली, र जानकीदेवी कुँवर छन्।

संसदीय दलको नेतृत्व विवादसँगै सुदूरपश्चिममा सरकार गठन र मन्त्रिपरिषद् विस्तारसमेत जटिल बनेको छ।
निर्वाचनपछि भट्टलाई मुख्यमन्त्री बनाउने भनिए पनि कांग्रेसका कमल शाह मुख्यमन्त्री बनेपछि भट्ट पक्ष असन्तुष्ट बनेको थियो। पछिल्लो एमाले–माओवादी गठबन्धनमा पनि भट्टलाई थाहै नदिई मन्त्री चयन गरिएको भन्दै विवाद पुनः चर्किएको छ।

यसबीच पार्टी नेतृत्वको भूमिका पनि आलोचनाको केन्द्रमा छ। इन्चार्ज, उपाध्यक्ष र वरिष्ठ नेताहरूले पटक–पटक पहल गरे पनि समाधान निकाल्न असफल भएका छन्।
स्थायी समिति बैठकमै खगराज भट्टले आफूमाथि अन्यायपूर्ण व्यवहार भएको भन्दै गहिरो रोष प्रकट गरेका थिए र बैठक छाडेर बाहिरिएका थिए।

विवाद समाधान नभएसम्म सुदूरपश्चिममा माओवादी केन्द्रभित्रको अस्थिरता कायम रहने देखिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार