काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् ग्लोबल आईएमई बैंक, आईएमई ग्रुप र आबद्ध कम्पनीहरूले बाढीपहिरो र डुबानबाट पीडितहरूका लागि एकमुष्ट पाँच करोड रपैयाँ हस्तान्तरण गरेका छन् । पीडितहरूको राहत र पुनर्स्थापनाका लागि उक्त रकम उपलब्ध गराएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे। उक्त रकम कोषमा सहयोग भएकोमध्ये अहिलेसम्मकै सबैभन्दा बढी रकम हो ।
आइतबार नै नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख, एनएमबी बैंकका अध्यक्ष मनोज गोयलले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख हस्तान्तरण गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
उक्त रकमसहित आइतबार प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।सहयोग गर्ने सबै संस्थाहरूलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै संकटका समयमा मिलेको साथ अमूल्य हुने बताएका थिए ।