पञ्चबर्षीय गढीमाई मेला, डेढ करोड भक्तजन आउने अनुमान


काठमाडौं ।  । प्रत्येक पाँच बर्षमा लाग्ने विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई मेला सुरु भईसकेको छ ।  बारा महागढीमाई नगरपालिकाको वडा नम्बर –१ बरियारपुरमा पञ्चबर्षीय गढीमाई मेला लागेको हो । करिव एक महिनासम्म लाग्ने पञ्चबर्षीय गढीमाई मेला नेपालसहित भारतबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । गढीमाई प्रतिको श्रद्धा भाव र मागेको कुरा पूरा हुने विश्वासले यहाँ भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । श्रद्धालुहरु पाँच बर्षमा उपस्थित भई भाकल पूरा भएको खुशीयालीमा पशुवली दिने गर्छन् ।

शनिबार मध्यरातमा विशेष पूजापश्चात् आइतबार बिहान पञ्चबली र त्यसपछि राँगावली सुरु हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ ।शनिबार मध्यरात अर्थात आइतबार सूर्योदय अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबली दिइने र राँगावली सुरु हुनेछ ।

तान्त्रिक विधिबाट पूजारीले गढीमाईलाई पञ्चवली दिएपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशुवलि दिने परम्परा रहिआएको गढीमाईका मूल पूजारी मङ्गल चौधरीले बताए । उनका अनुसार सोमबार भने बोका बली दिइने छ । दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।यो मेला विश्वमा सबैभन्दा बढी बली दिइने धार्मिक स्थलका रुपमा परिचित छ । उक्त मेलामा एकदेखि डेढ करोड भक्तजनहरु आउने अनुमान गरिएको छ । तर गढीमाई दिइने बलिका विषयमा पशु अधिकारकर्मीहरुले चर्को विरोध गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार