23.1 C
Kathmandu
Sunday, March 24, 2024
spot_img

भानुभक्त प्राणी उद्यान विस्तार गरिँदै

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनस्थित भानुभक्त प्राणी उद्यानभित्र १३ प्रजातिका स्तनधारी वन्यजन्तु भेटिएका छन् । प्राणी उद्यानले ओगटेको वन क्षेत्रभित्र १३ प्रजातिका स्तनधारी भेटिएका हुन् ।

प्राणी उद्यानले व्यास –११ र १२, भानु नगरपालिका–५ र ६ भित्रका १३ वन क्षेत्र ओगटेको छ । हालसम्म ती ठाउँमा चितुवा, रतुवा, स्याल, खरायो, वन बिरालो, रातो बाँदर, सालकलगायतका १३ प्रजातिका स्तनधारी वन्यजन्तु भेटिएको प्राणी उद्यानका संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिनुभयो ।

यसैगरी प्राणी उद्यानमा १८५ प्रजातिका पशुपक्षी भेटिएका छन् । यहाँ विश्वमा दुर्लभ मानिएको गोमायु महाचिल र सेतो गिद्ध, संवेदनशील सूचीमा रहेको हिमाली गिद्ध, चश्मे उलुक र घेघरी झाडीफिस्टोसहित नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरलगायत विभिन्रैथाने, हिउँदे र ग्रीष्मकालीन आगन्तुक चरा रेकर्ड गरिएको छ । यस्तै यहाँ साल, कटुस, चिलाउनेलगायतका ४० प्रजातिका वनस्पति भेटिएका छन् ।

सो उद्यान कूल ४२५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ । प्राणी उद्यानले २९७.४७ हेक्टर संरक्षण इलाका र १२७.५३ उपयोग इलाका निर्धारण गरेको छ । संरक्षण इलाकाभित्र घना वन क्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्दछ भने उपयोग इलाकाभित्र कम भिरालो, पानीका स्रोत पर्दछ ।

उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ । रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको हो ।

उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेत, बारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत पन्थले बताउनुभयो । उहाँका अनुसार यस कार्यका लागि कूल रु ४६ करोड ५२ लाख एक हजार ७३० बजेट आवश्यक पर्छ । जग्गाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको र बजेट स्वीकृत भएर आएपछि मुआब्जा वितरणको काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।

“प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जग्गाको मूल्याङ्कन गरेर बजेटका लागि फाइल अर्थ मन्त्रालय पुगेको छ, अर्थ मन्त्रालयबाट बजेट प्राप्त भएपछि मुआब्जाको काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

प्राणी उद्यानभित्र परेका १२६ जग्गाधनीको ९६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि रु ४३ करोड ८७ लाख नौ हजार ४४३ मुआब्जा निर्धारण गरिएको छ । त्यस्तै उद्यानभित्र परेका घरटहराका लागि रु ५८ लाख सात हजार ५७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि रु दुई करोड छ लाख ८४ हजार ७०७ मुआब्जा निर्धारण गरिएको छ ।

उद्यानको सिमानामा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ । प्राणी उद्यानको विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार यहाँ दुई इलाका, चार क्षेत्र र आठ शाखा कल्पना गरिएको छ । इलाकाअन्तर्गत संरक्षण इलाका र उपयोग इलाका रहनेछ । क्षेत्रअन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति र आध्यात्मिक, उद्धार र अनुसन्धान रहनेछ । शाखाअन्तर्गत ठूला शाकाहारी पक्षी, सर्वहारी, सरीसृप, साना स्तनधारी, मांसाहारी र भालु शाखाको कल्पना गरिएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles