• २०८२ फाल्गुन ५ गते मङ्गलवार
  • Preeti To Unicode

काँकडभिट्टामा गैँडाको खाग र लागू औषधसहित भारतीय नागरिक पक्राउ


काठमाडौँ –  मेचीनगर नगरपालिका-६, काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसबाट गैँडाको खाग र लागू औषधसहित भारतको पश्चिम बङ्गाल, उत्तर मेन्दाबारी निवासी ४२ वर्षीय नारायण रामधामलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार दिउँसो ३:३० बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गेस्ट हाउसमा छापा मारेको थियो। कोठा तलासी गर्दा १ किलो ७०० ग्राम तौलको गैँडाको खाग, ३ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर, ‘पाइइभोन स्पास प्लस’ लेखिएका १८ पत्ता ट्याब्लेट, डिजिटल तराजु र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका नारायण रामधाममाथि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको गैँडाको खाग परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालयकी निमित्त सूचना अधिकारी मेहेगी ल्हामु तामाङका अनुसार यो घटना लागू औषध र वन्यजन्तु तस्करी नियन्त्रणमा प्रहरीको सक्रियताको उदाहरण हो। नेपाल-भारत सीमामा यस्ता आपराधिक गतिविधि रोक्न थप निगरानी र कारबाहीलाई प्रभावकारी बनाउने प्रहरीको योजना रहेको उनले बताइन्।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार