काठमाडौं – मल्टिस्टारर फिल्म ‘कार्साङ’को प्रिमियर बुधवार साँझ कमलपोखरीस्थित बिग मूभिजमा सम्पन्न भएको छ। प्रिमियर कार्यक्रममा प्रमुख कलाकारहरूको उपस्थिति विशेष आकर्षणको विषय बन्यो।
फिल्मका प्रमुख कलाकारहरू अभिनेता जितु नेपाल, अभिनेत्री दीया मास्के, र डेब्यु अभिनेत्री सिर्जना निङलेखु प्रिमियरमा उपस्थित थिए। अभिनेता दयाहाङ राई भने कार्यक्रममा अनुपस्थित थिए।
समारोहमा दीया मास्के र सिर्जना निङलेखुले शेर्पा समुदायको पारम्परिक पोशाकमा उपस्थित भइ सौन्दर्य प्रदर्शित गरिन्। साथै, शेर्पा समुदायका सदस्यहरूले आफ्नो सांस्कृतिक पोशाकमा उपस्थित भइ झाँकी र बाजा प्रस्तुत गरेर एक अद्वितीय सांस्कृतिक माहौल सिर्जना गरे।
फिल्मको निर्देशन गरेका याम शेर्पाले कार्यक्रममा उपस्थित दर्शकहरूको उत्साहपूर्ण उपस्थितिका लागि धन्यवाद व्यक्त गरे। ‘कार्साङ’ फिल्म शुक्रबारदेखि देशभर १३० शोसहित प्रदर्शनमा आउने तयारीमा छ।