काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित भएका छन्। उनले बुद्ध एअरको जहाजमार्फत काठमाडौँबाट पोखरा यात्रा गरी अदालतमा निर्धारित दोस्रो तारिखमा हाजिर भएका हुन्।
लामिछानेको कानुनी प्रक्रिया अन्तर्गत यो कास्की अदालतमा दोस्रो उपस्थिती हो। अब, उनी पोखराबाट सिधै रुपन्देही जानेछन्, जहाँ भोलि सोमबार अर्को सुनुवाइ तोकिएको छ।
उनी पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भइसकेका छन्। त्यसैगरी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारी मुद्दामा पनि धरौटीमा रिहा भएका थिए।
तर, पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा भने लामिछानेविरुद्ध मुद्दा दर्ता हुन बाँकी छ।