• २०८२ फाल्गुन २९ गते शुक्रवार
  • Preeti To Unicode

हङकङ टी–२० अन्तर्राष्ट्रिय सिरिज : कतारमाथि नेपालको सहज जित


काठमाडौं — हङकङमा सुरु भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको खेलमा पहिले ब्याटिङ गर्दै कतारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन बनायो। कतारका कप्तान इक्रमुल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ५४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। यस्तै, शाहजैब जमिलले ३१ रन बनाए भने मुजीब उर रेहमान २० रन र मुहम्मद इर्शाद १८ रनमा अविजित रहे।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले समान १–१ विकेट लिए। डेब्यु खेलमै नन्दन यादवले विकेट लिँदै प्रभावशाली सुरुवात गरे।

१५२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै मात्र १७ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। ओपनर कुशल भुर्तेलले ३८ रनको आक्रामक सुरुवात दिलाए भने कप्तान रोहितकुमार पौडेलले अविजित ३७ रन बनाए। विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ३३ रन बनाए भने बसिर अहमद ३० रनमा अविजित रहे।

कतारका लागि मुजीब उर रेहमानले २ विकेट लिए।

चार राष्ट्र सहभागी यस टी–२० सिरिजमा नेपाल, हङकङ, कतार र कुवेत रहेका छन्। नेपालले दोस्रो खेल वैशाख २८ गते बिहीबार कुवेतविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार