11.1 C
Kathmandu
Thursday, December 7, 2023
spot_img

गलेश्वरको भेटी पूर्वाधार निर्माणमा

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पूर्वाधार निर्माणमा परिचालन भएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । “गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा गनेर सार्वजनिक गर्ने गरिएको छ”, उहाँले भन्नुभयो “भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।”

कोषले गत वर्ष गलेश्वर मन्दिरमा पित्तलको छाना छाउन रु ३१ लाख ७५ हजार, सामुदायिक भवन बनाउन रु २१ लाख ९९ हजार, कालीगण्डकीबाट पानी ल्याएर ११ धारा बनाउन रु चार लाख खर्च गरेको छ । जडभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक रु ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्नक्षेत्रका भान्छेलाई मासिक रु १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

विसं २०६७ सम्म भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायत क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी साम्रगीको कुनै लेखाजोखा हुने गरेको थिएन । बाह्र वर्षअघिसम्म रु ३१ लाख रहेको मन्दिर व्यवस्थापन समितिसँग हाल रु तीन करोडको हाराहारीमा बचत छ । आर्थिक वर्ष २०७८÷७९ मा रु ४० लाख ८५ हजार पाँच सय २२ भेटीसहित रु ९१ लाख ८२ हजार पाँच सय ६९ आम्दानी भएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले बताउनुभयो ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ । हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । अन्य समय दैनिक पूजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ ।

कोषका कोषाध्यक्ष कुमारी रोकाले साउनको तेस्रो हप्तासम्मको सोमबारको मेलामा रु नौ लाख ५८ हजार नौ सय ९८ भेटी सङ्कलन भएको बताउनुभयो । पहिलो सोमबार रु तीन लाख ३३ हजार छ सय ६६, दोस्रो सोमबार रु तीन लाख १८ हजार तीन सय ३२ र तेस्रो सोमबार रु तीन लाख ३३ हजार छ सय ६६ भेटी सङ्कलन भएको थियो ।

यसैगरी गलेश्वरमा भक्तजनले भेटी र दान कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाउन माछापुच्छ«े बैंकले जडान गरेको क्यूआरकोड सोमबार हस्तान्तरण गरेको छ । पोखराकी जरिना क्षेत्रीले रु एक लाख पाँच हजार कोषको खातामा पठाएर क्यूआर कोड सेवाको सुरुआत गर्नुभएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles