20.5 C
Kathmandu
Tuesday, September 26, 2023
spot_img

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

सुदूरपश्चिम, २६ जेठ (रासस) : धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन गरेसँगै उक्त अभियान सुरु गरिएको थियो ।

फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ विगतमा सुभाष शाहीको नेतृत्वमा ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो । उक्त अभियानका अभियन्ता शाहीलाई नै सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

अभियानका क्रममा देशकै सर्वाधिक धनराशि पुरस्कारको धनगढी प्रिमियर लिग(डिपिएल)क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो भने फाप्लाको पहिचानदेखि जग्गा प्राप्तिसम्मको पहलसमेत गरिएको थियो । नेपालको पहिलो फ्रेन्चाइज लिग क्रिकेटका रुपमा धनगढी प्रिमियर लिग(डिपिएल)को आयोजना शाहीले फाप्लामै आयोजना गरिएपछि यसले खेलक्षेत्रमा राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाएको थियो ।

‘‘ड्रिम फाप्लामा पुग्ने सिँढी नै डिपिएल थियो’’ डिपिएलका आयोजकसमेत रहनुभएका शाहीले भन्नुभयो, “हामीले ड्रिम फाप्लाको सपना देखेका थियौँ, अब यो अभियान सफलतामा पुग्ने निश्चित भएको छ ।” मन्त्रिपरिषद्को बैठकले युवा तथा खेलकूद मन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

सरकारले गत वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो । सोही आदेश बमोजिम मन्त्रिपरिषद्ले समितिलाई पूर्णता दिएको हो । विकास समिति आदेशमा रङ्गशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति नौ सदस्यीय हुने व्यवस्था गरिएको जनाइएको छ ।

धनगढी उपमहानगरपालिका-३ मोहना नदीको किनारमा अवस्थित फाप्ला मैदान झण्डै ३८ बिघा क्षेमा फैलिएको छ । विकास समितिलाई उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्ंगशालासहित विभिन्न खेलका पूर्वाधार निर्माणको जिम्मेवारी दिइएको छ ।

खेल क्षेत्रको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले लिनुभएको चासो र पहलको फलस्वरुप फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यले गति लिएको हो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा आरजु देउवा राणाले सुदूरपश्चिमको मुहार फेरिदिने जनाउँदै यस आयोजनाप्रति चासो दिई प्राथमिकतामा राख्नु भएकाले फाप्लाको निर्माण कार्यअघि बढेको अध्यक्ष शाहीले
बताउनुभयो ।

विकास समितिको गठनसँगै अब रङ्गशाला निर्माणको काम अघि बढ्ने जनाइएको छ । गठन आदेशानुसार पहिलो बैठक बसेको मितिले तीन वर्षसम्म समितिको कार्यकाल रहने व्यवस्था गरिएको छ । यदि पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा नेपाल सरकारले एक–एक वर्षगरी दुई पटकसम्म पदावधि थप गर्नसक्ने आदेशमा उल्लेख गरिएको छ ।

समितिले क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्नेलगायतको काम गर्नेछ ।

यस्तै शाहीको अध्यक्षतामा बनेको नौ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगर र कृष्णपुर नगरका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ । यसबाहेक प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन ईकाइ कैलालीका प्रमुख, उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष, खेलकूद क्षेत्रमा योगदान पु¥याएका महिलामध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना सदस्य रहने व्यवस्था छ ।

क्रिकेटका गतिबिधि बढ्दै गए पनि यस क्षेत्रमा क्रिकेट खेल्न स्तरीय खेल मैदानको अभाव रहेको छ ।

धनगढीको पहिचान क्रिकेट
क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेशको राजधानी धनगढी सहरको पहिचान क्रिकेट खेल बन्न थालेको छ । क्रिकेटका गतिविधि बढेसँगै देखिएको क्रिकेटको ‘क्रेज’ले क्रिकेटका नयाँ खेलाडी जन्मिन थालेका छन् । खेलप्रति यहाँका हजारौँको आकर्षण बढ्दा धनगढी क्रिकेटको सहरका रुपमा चिनिनँ थालेको बताइन्छ ।

सुदूरपश्चिम प्रदेशले क्रिकेटका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिं ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिं भण्डारी, दिलिप नाथलगायतका क्रिकेट खेलाडी सुदूरपश्चिमकै हुनुहुन्छ ।

‘अण्डर १९‘ टिममा सहभागी हुने भीम सार्की, सन्दीप जोरा, सुवोध ऐरलगायतका खेलाडी यसै प्रदेशका हुनुहन्छ । क्रिकेटप्रति बढेको आकर्षणले प्रतियोगिताको गतिलाई कोभिडले दुई वर्ष रोकिएको थियो ।

कोभिड समस्या न्यून भएसँगै पछिल्ला महिनामा यहाँ पुनःक्रिकेट प्रतियोगिता भइरहेका छन् । कतिपय विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट प्रतियोगितालाई छनोट गर्दै यस खेलका लागि शिक्षक नियुक्तसमेत गरिएको छ । विद्यालयमासमेत यसम्बिन्धी शिक्षणको व्यवस्था हुँदा धनगढी क्रिकेटको व्यवसायिक थलो बन्ने सम्भावना बढेको स्थानीय अमर जोशीको भनाइ छ ।

क्रिकेटको विकास र विस्तारका लागि धनगढी र खासगरी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्रिकेट एकेडमीसमेत सञ्चालनमा ल्याइएको छ । यस खेललाई व्यवसायिकरण गर्नुपर्ने क्रिकेट खेलप्रेमीको भनाइ छ ।
–––

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles