काठमाडौँ – बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, चिराल्नामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने उनका १२ वर्षीय छोरा घाइते भएका छन्।
आइतबार राति करिब ११ बजे डोगडीबाट बुढिगंगातर्फ जाँदै गरेको भे२त १५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी ट्याक्टर चालक ३२ वर्षीय पदम रावत को घटनास्थलमै मृत्यु भएको छ।
चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। ट्याक्टरमा सवार अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ओरालो सडकमा अनियन्त्रित बनेको ट्याक्टर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।