• २०८२ फाल्गुन २० गते बुधवार
  • Preeti To Unicode

डल्लुमा डेराबाट सुनका गरगहना चोरी, तीन जना पक्राउ


काठमाडौं – काठमाडौंको डल्लुस्थित डेराबाट सुनका गरगहना चोरी भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौंका ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौतीका ३६ वर्षीय कोमल बहादुर कार्की, र भारतको कलकत्ताका ५८ वर्षीय जागिर मलिक रहेका छन्।

डल्लुस्थित ज्ञानरत्न मानन्धरको घरमा डेरा गरी बस्‍ने सुनिता ठकुरीको कोठाबाट बहुमूल्य सुनका गरगहना चोरी भएको थियो। प्रहरीका अनुसार चोरी भएका गहनाहरूमा सुनको नेक्लेस, सिक्री, औंठी, तिलहरी, झुम्का, मंगलसूत्र लगायतका बहुमूल्य सामग्री रहेका छन्।

घटनापछि अनुसन्धान तीव्र पार्दै प्रहरी वृत्त स्वयम्भूले तीन जना आरोपितलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका अभियुक्तहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ भने अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी कार्य जारी राखिएको छ।

सुरक्षा प्रवर्द्धनको माग

हालै सुनका गरगहना चोरीका घटनाहरू बढ्दै गएकाले स्थानीयबासी र व्यवसायीहरूले सुरक्षा निगरानी कडा बनाउन माग गरेका छन्। प्रहरीले सर्वसाधारणलाई आफ्ना घर तथा डेरामा आवश्यक सुरक्षा उपाय अपनाउन, शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार