सर्लाही – सर्लाहीको मिर्चैयामा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ भने उनकी बहिनी गम्भीर घाइते भएकी छन्।
दुर्घटना हरिपूर्वा नगरपालिका–९ मिर्चैयामा बिहान सवा ८ बजेतिर भएको हो। श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना. ५ ख ३८५८ नम्बरको ट्रकले साइकलमा सवार दुई दिदीबहिनीलाई ठक्कर दिएको थियो।
घटनामा ईश्वरपुर नगरपालिका–१३ श्रीनगरकी १७ वर्षीया अञ्जली कुमारी महतोको घटनास्थलमै मृत्यु भएको छ। उनकी १५ वर्षीया बहिनी पूजा कुमारी महतो गम्भीर घाइते भएकी छन्। उनलाई तत्कालै स्थानीय निजी क्लिनिकमा उपचारका लागि लगिएको सर्लाही प्रहरीले जनाएको छ।
मृतक अञ्जलीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। दुर्घटनापछि ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्जले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।