काठमाडौं– पाँच वर्षअघि रिलिज भएको फिल्म ‘समर लभ’बाट अभिनयमा डेब्यु गरेका आशिष पिया अब नयाँ फिल्म ‘आमिगोस’ मा मुख्य भूमिकामा देखिने भएका छन्।
स्पेनी भाषामा ‘आमिगोस’ को अर्थ “साथीहरू” भन्ने हुन्छ। यसै भावनालाई समेट्दै फिल्म मित्रतामा आधारित प्रेमकथाको जनरामा निर्माण गरिने भएको छ।
फिल्मको लेखन तथा निर्देशन मार्केन्डय दिपविम बस्नेतले गर्नेछन्। उनले करिब एक दशकपछि निर्देशनमा फर्किन लागेका हुन्। बस्नेतले यसअघि ‘सौर्य’ र ‘द्रव्य’ निर्देशन गरिसकेका छन्।
फिल्म बीएस इन्टरनेशनल स्टुडियोको ब्यानरमा बन्नेछ। निर्माणमा विकास आचार्य र सह-निर्माणमा सुरेन्द्र रावल रहेका छन्।
‘आमिगोस’ को ७० प्रतिशत छायांकन अष्ट्रेलियामा र ३० प्रतिशत नेपालमा हुने योजना छ। हाल फिल्मका लागि दुई मुख्य कलाकारको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ।