काठमाडौं – भारत र पाकिस्तानबीचको सैन्य तनाव चीनका लागि खुफिया जानकारी संकलनको अवसर बनेको देखिएको छ। कश्मीर क्षेत्रमा भइरहेका सैन्य गतिविधिहरूको निगरानी गर्दै चीनले पाकिस्तानको सहयोगमा भारतविरुद्ध व्यापक गुप्तचर रणनीति अपनाएको विश्लेषकहरू बताउँछन्।
विशेषज्ञहरूका अनुसार पाकिस्तानमा सञ्चालनमा रहेका चिनियाँ लडाकु विमानहरू, विशेषगरी जे–१० मार्फत, चीनले युद्धसम्बन्धी प्रविधि र अवस्थाबारे महत्वपूर्ण जानकारी संकलन गरिरहेको छ। यसले चीनलाई भारतीय सेनाको रणनीति बुझ्न थप सहयोग पुगेको छ।
चीनले सिमाना, अन्तरिक्ष र समुद्री क्षेत्रमा भारतमाथिको निगरानी क्षमता सशक्त बनाएको जनाइएको छ। हाल चीनसँग २६७ उपग्रह छन्, जसमध्ये ११५ उपग्रह गुप्तचर र निगरानी प्रयोजनका लागि प्रयोग भइरहेका छन्।
भारत–रुस संयुक्त रूपमा विकास गरिएको ब्रह्मोस मिसाइल प्रणालीप्रति चीनले विशेष चासो राखेको छ। यसबारे जानकारी संकलन गर्न चीन विभिन्न माध्यमहरूबाट सक्रिय रहेको बताइएको छ।
त्यस्तै, हिन्द महासागर क्षेत्रमा पनि चीनको उपस्थिति बढ्दो क्रममा छ। चीनले अन्तरिक्ष ट्र्याकिङ प्रणाली र माछा मार्ने जहाजहरू प्रयोग गरेर समुद्री गतिविधिको निगरानी तीव्र बनाएको हो। पछिल्लो समय पाकिस्तानमा तनाव चुलिएसँगै भारतीय नौसैनिक अभ्यास नजिकै २२४ चिनियाँ माछा मार्ने जहाजहरू देखिएका थिए, जसले सम्भावित गुप्तचर भूमिका निर्वाह गरिरहेको अनुमान गरिएको छ।
पाकिस्तान र चीनबीचको रणनीतिक साझेदारीका कारण चीनलाई सूचना प्राप्त गर्न सहज वातावरण बनेको छ। पाकिस्तानमा चिनियाँ सैन्य सल्लाहकारहरूको उपस्थिति तथा हतियार खरिदमा पनि चीनको भूमिका सक्रिय देखिन्छ।
भारत र चीनबीच सन् १९६२ को युद्धदेखि नै सीमासम्बन्धी तनाव रहँदै आएको छ। यस्तै दीर्घकालीन रणनीतिक प्रतिस्पर्धाको पृष्ठभूमिमा पाकिस्तान–भारत संघर्षले चीनलाई आफ्नो रणनीति बलियो बनाउने थप अवसर प्रदान गरेको विज्ञहरू बताउँछन्।