11.1 C
Kathmandu
Friday, December 1, 2023
spot_img

कैलालीमा बाढीको जोखिममा परेकालाई राहत

विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका परिवारले राहत पाउने भएका छन् । टीकापुर र जानकीका चार हजार पाँच सय १९ परिवारलाई राहत उपलब्ध गराइने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीका अनुसार टीकापुरका तीन हजार १२ परिवार र जानकीका एक हजार पाँच सय सात परिवारले नगद सहयोग पाउने भएका छन् । उनीहरुलाई प्रतिपरिवार रु १५ हजारका दरले वितरण गरिने भएको छ । मौसम पूर्वानुमानमा आधारित विपद् पूर्वसूचनाअनुसार बाढी आउने सूचना आएपछि जोखिममा रहेका समुदायले नगद सहयोग पाउनेछन् । बाढी आउनुपूर्व सुरक्षित स्थानमा सर्न, सुरक्षित स्थानमा आवश्यक दैनिक उपभोग्य सामान खरिदमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त सहयोग तीन चरणमा वितरण गरिनेछ ।

पहिलो चरणमा ६० प्रतिशत परिवार, दोस्रो चरणमा २० र तेस्रो चरणमा २० प्रतिशतलाई रकम दिइने नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले जानकारी दिनुभयो । “मौसम विज्ञान विभागको बाढी आउने पूर्वसूचनापछि कर्णाली नदीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्नका लागि नगद रकम सहयोग गरिनेछ”, उहाँ भन्नुहुन्छ, “यसले जोखिममा रहेका परिवारलाई सुरक्षित हुन र अत्यावश्यक सामान खरिदमा सहयोग पुग्नेछ ।”

विगतमा बाढी पीडितलाई बाढीपछि राहतका लागि सामान दिइन्थ्यो । बाढीपछि उद्धार गरिने, राहतका सामग्री दिने अभ्यास छ । अब सामानभन्दा नगद दिएमा आवश्यक सामान आफैँ खरिद गर्न सहयोग होस् भनी सहायता गर्न थालिएको रेडक्रस कैलालीका कार्यक्रम संयोजक हेमराज उप्रेती बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले स्थानीयस्तरमै गएर, नदीको जोखिममा रहेका तटीय क्षेत्रको अनुगमन गरेर तथ्याङ्क तयार गरेका छौँ ।”
टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले रेडक्रसले तथ्याङ्क सङ्कलन गर्दा नगरपालिकासँग समन्वय नगरेको गुनासो गर्नुभयो । “पालिकासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गरेको भए सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब सहायता दिँदा समुदायमा समुदायमा द्वन्द्व निम्तने डर रहन्छ । कसैले पाउने, कसैले नपाउने हुँदा पालिकामा गुनासो बढ्छ ।” नगर प्रमुख रामलाल डगौरा थारुले ६० प्रतिशतलाई पहिलो चरणमा दिने ४० प्रतिशतले पछि पाउने भएमा समस्या हुनसक्ने बताउनुभयो । “बरु रकम सहायता कम गरौँ, केही परिवारले पहिलो चरणमा पाउने, केहीले दोस्रो चरणमा दिएमा नागरिकलाई सम्झाउन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो ।

रेडक्रस कैलालीका सभापति उत्तम जोशीले विश्व खाद्य कार्यक्रमले धेरै अनुरोधपछि कैलालीलाई छनोट गरेको उल्लेख गर्दै बाढी आउनु पहिला दिँदाको प्रभाव र पछि दिँदा समुदायमा पर्ने प्रभावबारे अध्ययन गर्न पनि यसो गर्न थालिएको बताउनुभयो । विश्व खाद्य कार्यक्रमका ऋतेश श्रेष्ठले बाढी आउनुपूर्वको सूचनालाई आधार मानेर कर्णाली नदीको जोखिममा रहेकालाई सहयोग गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगद सहायता कार्यक्रम अन्य जिल्लामा पनि छ । देशभरिका २८ हजार परिवारले नगद सहायता पाउने भएका छन् ।”

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles