Breaking विज्ञापन-सम्पार्क समाचार

पुस्तान्तरण नहुँदा संस्कृति धान्नै धौधौ

Written by janaawaaj

बागलुङ, २६ साउन (रासस)ः रीतिअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन पर्ने गठेमङ्गलदेखि नै लाखे नचाउनुपथ्र्यो । पहिले–पहिले गठेमङ्गलमा सुरु भएको लाखे नाचलाई तीजमा अन्त गर्ने प्रचलन थियो । यसपालि भने लाखेको कुनै सुरसार छैन ।अन्यत्र लाखे नाचको रौनक सुरु भइसक्दा पनि यहाँको नेवार समुदाय भने अन्योलमा छ । शाक्य कल्याण समाजका सचिव मञ्जुल शाक्यले पछिल्लो समय लाखे नाच्ने कलाकारै नभएको बताउनुभयो । “नाच्ने, बजाउने मान्छे नहुँदा लाखे नाच सङ्कटमा छ”, उहाँले भन्नुभयो ।

उक्त समाजको अगुवाइमा बर्सेनि लाखेनाच प्रदर्शन हुँदै आएको थियो । सचिव शाक्यले पछिल्ला दुई वर्ष कोभिड–१९ ले पनि लाखेलगायत बर्खे नाच निकाल्न नसकिएको उल्लेख गर्नुभयो । “नयाँ पुस्तालाई सिकाउन नसक्दा पुरानो संस्कृति हराउने चिन्ता बढेको छ”, उहाँले भन्नुभयो ।तीन वर्षअघि पनि नाच्ने कलाकार कोही नभएपछि पोखरामा बस्ने आशिष शाक्यलाई बोलाएर समाजले लाखे नाच प्रदर्शन गराएको थियो । लाखे नाचको कला र शिल्प पुस्तान्तरण नहुँदा समस्या निम्तिएको नेपाल भाषा मंकाः खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

उहाँका अनुसार नयाँ पुस्तामा लाखे नाच्ने मान्छे नै छैनन् । नेवार समुदायमा हुने बसाइँसराइ, युवाहरू पढ्न बाहिर जाने प्रवृत्तिले पुरानो कला, संस्कृति जोगाउन चुनौती थपिएको उहाँले जानकारी दिनुभयो । “सांस्कृतिक पर्वमा नाच्ने, गाउने, बजाउने पुराना पुस्ताका धेरै कलाकार अहिले काठमाडौँ, पोखरालगायतका सहरमा छन्”, उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिप्रति उतिसारो रुचि छैन, पढ्न र रोजगारीका लागि बाहिर जाने प्रवृत्ति बढ्दो छ ।”

अध्यक्ष राजभण्डारीले अहिलेसम्म जेनतेन धानिएको नेवारी संस्कृति सङ्कटोन्मुख रहेको बताउनुभयो । उहाँले विसं २०४६ पछिको परिवर्तन र आधुनिक विकासले पनि परम्परामा मार थपिएको धारणा व्यक्त गर्नुुभयो । “पहिले कृषिमा आधारित समाज र जीवनशैली थियो, मानिसहरु एकै ठाउँमा बस्थे”, उहाँले भन्नुभयो, “अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ ।”

लाखे मात्र नभएर बर्खे नाचका रुपमा देखाइने होबा, कटुवाल, रोपाइँ, जोगीलगायत नाच पनि जोगाउनै धौधौको स्थिति छ । इतिहास बोकेका नाच र जात्रा हराएर जाने हुन् कि चिन्ता छ । परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा खलः र समाजले अगुवाइ गरिरहेको छ । संस्कृतिकर्मी मुकुन्द शाक्यले पुस्तान्तरणको अभावमा तीन सय वर्ष पुरानो लाखे नाचको अस्तित्व नै नासिने खतरा बढेको बताउनुभयो । संरक्षण नहुँदा नागनागिनीसहित कतिपय नाच र जात्रा हराइसकेकाले जात्राको परम्परा जोगाउन नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उहाँको सुझाव थियो ।

संस्कृतिकर्मी शाक्यका अनुसार लाखे नाचमा ढोलक, झ्याली, बाँसुरीलगायत बाजा बजाउने कलाकार पनि औँलामा गन्न सकिने मात्र छन् । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति वियोगमा व्युहल बनेकी उनकी श्रीमतीले लाखे बनेर नाचेको किंवदन्ती छ । त्यसकै प्रतीकस्वरुप नेवार समुदायमा बर्सेनि लाखे नाच निकालिन्छ । नेवारको जात र स्थानअनुसार फरक–फरक तरिकाले लाखे नाच नचाउने गरिन्छ । लाखे नाचको प्रचलन र यसको इतिबासबारे पनि विभिन्न तर्कहरु पाइन्छन् ।

लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ । भक्तपुरबाट बसाइँसराइ गरेर यहाँ आउँदा नेवारहरुले परम्परागत नाच र जात्राको संस्कृति पनि सँगसँगै भित्र्याएका थिए ।

भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा जात्रालाई लिइन्छ । भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदौरे जात्राको प्रचलन बसालेका थिए । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ ।

About the author

janaawaaj