20.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

राहदानीबाट चार करोड ४२ लाख राजस्व सङ्कलन

तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा रु चार करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु चार करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ । दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ । कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा सात सय ८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकामा छवटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ ।

गीतल प्रतिष्ठान तनहुँमा अधिकारी

साहित्य क्षेत्रमा काम गर्दै आएको गीतल प्रतिष्ठान तनहुँको अध्यक्ष पदमा आकाश अधिकारी चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनले उहाँलाई सो पदमा चयन गरेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिवाकर भट्टराई, उपाध्यक्षमा शान्ता बाँस्तोला, सचिवमा माधवप्रसाद अधिकारी, सहसचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा हरिशचन्द्र वाग्ले र सदस्यमा अन्जना तिमिल्सिना, शिव आर्य, बन्धुराज अधिकारी, यामप्रसाद सापकोटा र सुदीप पौडेल चयन हुनुभएको छ ।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले साहित्य मानिसको जीवनसँग जोडिएको र पछिल्लो समय प्रतिष्ठानले तनहुँमा रहेका विभिन्न प्रतिभालाई ऐनाको रुपमा काम गरिरहेको बताउनुभयो ।

२० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पक्राउ परेका श्रेष्ठविरुद्ध शुक्रबार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को समन्वयमा निजलाई गैडाकोट नगरपालिका–२ स्थित राजमार्गमा बाप्र०३–००१ह १५६८ नंको टेम्पो चलाइ हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । विसं २०६० साउन १८ गते भानु नगरपालिका–६ बस्ने ५५ वर्षीय चाउरे श्रेष्ठलाई घातक हतियार कोदालो प्रयोग गरी प्रतिवादीले घाइते बनाएका थिए । घाइते श्रेष्ठको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । घटनापश्चात प्रतिवादी फरार रही लुकीछिपी बस्दै आएका थिए ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles