कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएकोे छ ।
आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूका लागि सरकारबाटै आउने रकम कम आएका कारण सेवाग्राहीहरुले पाउनुपर्ने रकममा कटौती भएको पाइएको हो । आर्थिक वर्षको तेस्रो चौमासिकसम्म मागअनुसारको रकम आए पनि अन्तिम चौमासिकमा रकम कम आएका कारण सेवाग्राहीहरुको बैंक खातमा कम रकम गएको उक्त नगरपालिकाले जनाएको छ । उक्त भत्ता पाउने सेवाग्राहीहरुका लागि रु पाँच करोड ६७ लाख आउनुपर्ने थियो तर झण्डै ५२ लाख ४३ हजार आठ सय ७७ रुपैयाँ अपुग अर्थात पाँच करोड १४ लाख रुपैयाँ मात्रै नगरपालिकामा आएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख खेमराज बिनाडीले बताउनुभयो । “हामीले माग गरेको रकमअनुसारको भुक्तानी नहुँदा सेवाग्राहीहरुले कम रकम पाएका छन् । त्यसका लागि नगरपालिकाबाट हामीले गर्ने सबै प्रक्रिया पूरा गरिसकेका छौं ।” उहाँले भन्नुभयो, “संघीय सरकारबाट कम रकम निकासा भएका कारण सेवाग्राहीहरुका खातामा कम रकम गएको बुझिएको
छ । अपुग अर्थात् कम परेको रकम अब आउने सामाजिक सुरक्षा भत्तामा बढेर आउने हो ।” शाखाप्रमुख बिनाडीले भत्ताको रकममा स्थानीय र प्रदेश सरकारको कुनै पनि भूमिका नरहने तर त्यसको सम्बन्ध संघीय सरकार र कोलोनिकामा रहने भएकाले स्थानीय सरकारले रकम खायो भन्ने कुरा निराधार भएको बताउनुभयो ।
सेवाग्राहीले फारम दर्ता गरेको आधारमा पनि सबैले पाउनुपर्ने रकम बराबर नआउने उल्लेख गर्दै उहाँले भन्नुभयोे, “चैतमा दर्ता गरिएकोे छ भने उसको वैशाखबाट भत्ता आउन सुरु हुन्छ भने वैशाखमा दर्ता गरेकाको जेठबाट सुरु हुन्छ । सेवाग्राहीहरुले कसैको बढी पैसा आए आफ्नो कम आए पनि शङ्का गर्ने गरेका छन् । त्यो हाम्रो कारणले भएको होइन ।”
नगर प्रमुख केवल चौधरीले अहिले जनप्रतिनिधि र कर्मचारीहरुले मिलेर सामाजिक सुरक्षा भत्ताको पैसा खएको भन्दै आफूमाथि आरोप लगाएको र त्यो आरोप निराधार भएको बताउनुभयो । “अहिले केही समूहले जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता खाएको अपुष्ट खबर नागरिकमा छरेर राजनीतिक दुनो सोझ्याउने काम गरिरहेका छन् ।” उहाँले भन्नुभयो, “तर सामाजिक सुरक्षा भत्ताको रकम कस्तो हुन्छ भन्नेसम्म हामीलाई थाहा छैन ।”
रकम कम आउँदा सेवाग्राहीले पाएनन् पूरा रकम
5 months ago
Add Comment
by janaawaaj
9 Views

Written by janaawaaj