Breaking विज्ञापन-सम्पार्क समाचार

लोप हुँदै मिथिलाञ्चलको लोकनाच

Written by janaawaaj

मिथिलाञ्चलसहित तराई–मधेसको लोकगाथा बोकेको नाच लोप हुने अवस्थामा पुगेको छ । लोकनाच लोप हुन थालेपछि त्यससँग सम्बद्ध कलाकार पलायन हुन थालेका छन् ।

सातौँ र आठौँ शताब्दीदेखि प्रचलनमा आएको मिथिला क्षेत्रका प्राचीन लोकनाच अल्लाह रुदल, राजा सलहेस, शितवसन्त, रुनाझुना, बादशाह, गोपीचन्द, कुँवर बृजमान, सुन्दर वनको सुन्दर फूल, गुगलीघाट, सामा चकेवा र कमला मैयाजस्ता लोप हुन लागेको हो ।

त्यसैगरी जयविषहरा, दुलहा दयालसिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोखामहाजन, महराई कारिक महाराज, आल्हा रुदल, झगडु मलजस्ता ऐतिहासिक नाच पनि लोप भएका छन् । यी नाच लोप हुन थालेपछि यससँग सम्बन्धित कलाकार पनि पलायन हुन थालेका छन् । दश वर्षको उमेरदेखि लोकनृत्य गर्दै आउनुभएको धनुषाको मिथिला नगरपालिका–१० का ४५ वर्षीय पुनित रामले आफूले सिकाएका २० जना कलाकार पलायन भएको बताउनुभयो ।

कलाकार पलायन भएसँगै नाच कम्पनी पनि बन्द भएको छ । पुनितको कम्पनी पनि कलाकारको अभावका कारण बन्द भएको छ । लोक तथा पौराणिक कथामा आधारित नाचका भिडियो विभिन्न माध्यमबाट बजारमा पाइन थालेकाले पनि नृत्य कम्पनी प्रभावित भएका पुनितको बुझाइ

छ । पुनितका अनुसार लोकनाच लोप भएपछि धनुषा जिल्लामा मात्र १०० भन्दाबढी कम्पनी बन्द भइसकेका छन् ।

विशेषगरी ग्रामीण क्षेत्रमा लोकप्रिय यस्ता नृत्य तत्कालीन नेकपा माओवादीको सशस्त्र आन्दोलनका बेलादेखि प्रभावित भएको हो । अहिले आक्कलझुक्कल वैवाहिक समारोह र मेलामा त्यस्ता नृत्य प्रस्तुत हुने गरेका वटेश्वर गाउँपालिका–५ का शान्तिपुरका जोगिन्दर महरा बताउनुहुन्छ । उहाँले यस्ता नाचलाई राज्यले संरक्षण गरी कलाकारलाई प्रोत्साहन गर्नुपर्ने बताउनुहुन्छ ।

महोत्तरीको पोखरभिन्डाका रामप्रसाद पासवानले लामो समयदेखि जङ्गली बादशाह कम्पनी नामक लोकनाच देखाउने कम्पनीमा काम गरेर परिवारलाई पाल्दै आउनुभएको थियो । अचेल नाचको माग हुन छाडेपछि उहाँ मजदुरी गरी परिवार पाल्न बाध्य हुनुहुन्छ ।

नाच कम्पनी बन्द हुँदा यसमा आबद्ध कलाकार रोजगारीका लागि खाडी तथा छिमेकी मुलुक भारत पलायन भएका छन् । धनुषा हरिहरपुरका ६२ वर्षीय जीवछ पासवान मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको चौधौं शताब्दीका प्रतापी ‘राजा सलहेश’ भेषमा अभिनय गर्दै आउनुभएको थियो । पासवान मञ्चमा उत्रिँदा दर्शकले तालीको गडगडाहड गुञ्जाउँथे ।

जीवछसहित २५ जना आबद्ध मिथिला नाच पार्टीले धनुषा, महोत्तरी, सिरहा, सप्तरी र भारतको विहारलगायतका क्षेत्रमा राजा सलहेसको कथा नाटकका माध्यमबाट प्रस्तुत गरिसकेको उहाँले बताउनुभयो । उहाँको टोलीले एकरात नाटक देखाए बापत ४० देखि ६० हजार रुपैयाँ त्यतिबेला पाउथे । ३५ वर्ष अभिनयमा बिताउनुभएको जीवछका पछिल्लो समय लोकनाचप्रति दर्शकको रुचि नभएको बताउनुहुन्छ ।

“मिथिला संस्कृतिका लोकगाथाका नाचको गाउँघरमा माग छैन”, जीवछले भन्नुभयो, “त्यही भएर कलाकार रोजगारीका लागि कतिपय विदेश पलायन भए ।” यस्ता नाचको संरक्षणमा सरकारको कुनै पहल नभएकाले कालाकार कामको खोजीमा विदेशिएको जीवछको भनाइ छ ।

पहिलापहिला प्रतिष्ठाका लागि पनि ठूलो रकम खर्चेर ग्रामीण क्षेत्रमा लोकनाच मञ्चन गराइन्थ्यो । पछिल्लो समय कोरोना महामारीको कारण भएको लकडाउनले यस्ता कार्यक्रम हुन छाडेको छ । जसका कारण नाच कम्पनीहरु एकपछि अर्को गर्दै बन्द हुँदै गएका छन् ।

धनुषाको हरैयाका भरोसी महराले भन्नुभयो, “केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच÷सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो । त्योबेला मिथिला क्षेत्रमा लोकनाच प्रसिद्ध थियो तर अहिले यी मौलिक नाच लोप हुँदै गएको छ ।”

नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूसँगै नाच कम्पनीमा काम गर्दै आएका साथी रोजगारीका लागि भारतको पञ्जाव र लुधियाना गइसकेको र आफूले पनि भारततिरै जाने सोच बनाएको धनुषा हरिहरपुरका दिलीप महराले बताउनुभयो ।

सिडी र मोबाइलको बढ्दो प्रयोगका कारण ऐतिहासिक लोक नाच मञ्चन गर्ने कम्पनी विस्थापित हुन थालेको नाच कम्पनीको जिम्मेवारी बहन गरिसक्नुभएको धनुषाको किसानपुरका राम लोचन पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक नाच लोप हुन थालेपछि धुनषा जिल्लामा रहेका एक सयभन्दा बढी नाच कम्पनी बन्द भएको छ ।” विगतमा ठूलो नाम कमाएका नाच कम्पनी बन्द भएपछि त्यसमा संलग्न करिब पाँचहजार भन्दाबढी कलाकार बेरोजगार भएर कामको खोजीमा विदेश पलायन भइसकेका बताइन्छ ।

About the author

janaawaaj