16.1 C
Kathmandu
Wednesday, March 27, 2024
spot_img

विचार :स्वाभिमानी जीवनका लागि सूर्यको उपाय

काठमाडौँ, २४ मङ्सिर (रासस) : ज्योतिषमा सूर्यलाई सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । ग्रहहरुको राजा हो । राज्य हो, सरकार हो र शासक हो । जीव र जगतमा आत्मा प्रदान गर्ने ग्रह हो । त्यसैले हरेक आत्माको कारक ग्रह सूर्य हो । शरीरमा हड्डीको पनि कारक हुन्छ । हाड बिना मानव जीवन कल्पना गर्न सकिँदैन । यसैले शरीरमा हड्डी र त्यसको बनावट सूर्य हो । तापक्रम बिना शरीर निष्कृय हुन्छ । सूर्यले शरीरको ताप नियन्त्रण गर्छ । मानव जीवनमा सूर्यको महत्व ज्योतिष शास्त्रीय हिसाबले मात्र नभई विज्ञान र चिकित्सा शास्त्रका हिसाबले पनि अग्रस्थानमा आउँछ । सबल शरीर, मान सम्मान, आत्मसन्तुष्टि, स्वाभिमान र नेतृत्वका लागि सूर्यको साथ अनिवार्य हुन्छ । पूर्वीय मान्यताअनुसार सूर्यलाई ग्रहमा अग्रस्थान दिइएको छ । वेद तथा पुराणमा यसलाई सबैभन्दा बलशाली ग्रह मानिएको छ । यसको एक चक्रलाई एक वर्षमा रुपान्तरण गरिएको छ भने ज्योतिष शास्त्रका १२ राशी १२ महिनामा समेटिएको छ । पृथ्वीबाट करिब १५ करोड किलोमिटर टाढा रहेको सूर्यले नै यो जगत्को सञ्चालन र नियन्त्रण गरेको छ । मानव जीवनका प्रत्येक घटनाका कारण पनि सूर्य नै हो ।

सूर्यलाई देवताको राजा भनिएको छ भने यो प्रकृतिको पनि राजा मानिन्छ । यसका बारेमा भविष्य पुराण, मत्स्य पुराण, पद्म पुराण, ब्रह्मा पुराण, मार्कण्डेय पुराण आदिमा विस्तृत वर्णन गरेको पाइन्छ । आदित्य, रवि, दिवाकर, भानु, भाष्कर, सविता, प्रभाकर, अनन्त, दिनकर, आर्क, दिनमानि, सूर्यादि नामले सम्बोधित सूर्य र राशिका आधारमा प्रत्येक महिनाको नामाकरण भएको छ । वेदमा संसारमा जति पनि जीव छन्, तिनीहरुको आत्मा ‘सूर्य आत्मा जगत्ः तस्थुषश्च’ भनिएको छ । जीव र आत्मा नमिलेसम्म जीवात्मा हुँदैन । हरेक जीवनको केन्द्र आत्मा हो भने आत्माको मूल स्रोत सूर्य हो । पञ्चतत्वमा अग्नि तत्वको मूल स्रोत सूर्य नै हो । मानव जीवनमा क्षमता र दक्षतासँगै सफलताको कारक सूर्यको सकारात्मक प्रभाव जरुरी हुन्छ । यसलाई ज्योेतिष शास्त्रले पहिलो प्राथमिकतामा राखेको छ । मानव जीवनमा सूर्यलाई कसरी सकारात्मक बनाउन सकिन्छ भन्ने विषयमा ज्योतिष शास्त्र र वैदिक ग्रन्थहरुमा व्यापक चर्चा गरिएको पाइन्छ । मानव जीवनलाई सफल, सार्थक र समुन्नत बनाउनमा सूर्यको साथ र सहयोग अनिवार्य मानिएको छ ।

संसारमा जीवन उत्पति र सञ्चालनमा महत्वपूर्ण भूमिका खेलिरहेको यो ग्रहले हरेक क्षण ऊर्जा र प्रकाश प्रदान गरिरहेको हुन्छ । ऊर्जा र प्रकाश नहुने हो भने हाम्रो जीवन कल्पनासम्म गर्न सकिँदैन । त्यसैले वैदिक परम्परामा यसलाई भगवानको रुपमा लिइएको छ । भगवान सूर्य सृष्टिका लागि पिता समान मानिएको छ । पिता र प्रकृति बिना जीवन सम्भव नभएकाले ज्योतिषमा यसलाई पिताको कारण ग्रह मानिएको हो । पिताको कारक ग्रह भएकाले यसलाई क्रुर ग्रहका रुपमा पनि लिइन्छ । किनकि पिता कठोर भइकन पनि सृष्टि र पालनकर्ताको रुपमा चिनिन्छन् । ज्योतिष शास्त्रले सृष्टि र पालककर्तालाई केन्द्रमा राखेर अन्य ग्रहहरुलाई अन्यान्य स्थान सूर्य आत्मा, शरीर, चन्द्र मन, बुध वुद्धि, आदि आदि ।

चर्चा सूर्य कै गरौँ । हाम्रो वार्षिक पात्रोमा तीन सय ६० दिन हुन्छ । डिग्रीका हिसाबले पनि तीन सय ६० डिग्री हुन्छ । एक दिनमा एक डिग्री यात्रा तय गर्दा सूर्यले एक वर्षमा ब्रम्हाण्डको एक चक्र पूरा गर्छ । यसको एक डिग्रीको यात्रा नै हाम्रो एक दिन मानिएको छ । त्यसैले हरेक दिन र हरेक समय हरेकका लागि फरकफरक असर कारक हुने गर्छ । ज्योतिष शास्त्रमा राशीको र नक्षत्रका आधारमा यसलाई थप व्यवस्थित गरिएको छ । १२ राशी र २७ नक्षत्रको चक्रभित्र ग्रहहरुको अवस्थाका आधारमा भविष्यवाणी र प्रकृतिको अवस्था अवलोकन हुने गर्छ । ग्रहहरुको असर र तिनीहरुले दिने फलको समय वा काल थाहा पाउन सूर्यको अवस्थाको ज्ञान महत्वपूर्ण हुन्छ । खासगरी नक्षत्र, राशी र ग्रहरुको समष्टिगत अध्ययनमा ग्रहहरुको अंश, कला र विकलालाई आधार मानिन्छ । त्यसैका आधार घटना र परिघटनाको अवलोकन हुन्छ ।

हरेक जीव र जगत्का कुनै पनि वस्तुको ज्योतिषीय गणनाबाट फलकथन सम्भव हुन्छ । यद्यपि, ज्योतिषीले केबल मानवीय जीवनका घटनामा आफूलाई बढी केन्द्रित गरेको पाइन्छ । भविष्यको चिन्ता लिने वा भविष्यप्रति चासो राख्ने मानवीय गुण भएकाले ज्योतिषीहरु पनि त्यसमै मात्र रमाएका हुन सक्छन् तर ज्योतिष केबल मानिसको भविष्य कथनमा मात्र सीमित छैन । यसले समग्र प्रकृतिसँगै स्वयं ग्रहहरुको पनि भविष्य बताउन सक्छ । यी सबै कुराहरुमा समय महत्वपूर्ण पक्ष हो । जुन सूर्यको गति र स्थितिलाई प्रमुख आधार मानिन्छ । यसलाई ज्योतिष शास्त्रले सूर्य सिद्धान्त भनेको छ ।

सूर्यको आफ्नो राशी सिंह हो । यहाँ सूर्यलाई स्वराशिस्थ भनिन्छ भने मेष राशीमा सूर्य उच्चको हुन्छ र तुला राशीमा नीच हुन्छ । जन्म समयमा सूर्य कहाँस्थित छ त्यसकै आधारमा यसको क्षमता र अवस्था हेरी फल कथन या घटना परिघटनाको आँकलन गरिन्छ । उच्च, स्वगृहि, मित्र र सम राशी र भावमा रहेको सूर्य सकारात्मक फल दिने हुन्छ भने शत्रु राशी, भाव र नीच राशीको सूर्य नकारात्मकताको कारक मानिन्छ । महत्वपूर्ण कुरा के हो भने कुनै पनि ग्रह सधँै नकारात्मक र सधै सकारात्मक भन्ने हुँदैन । यी ग्रहहरुले आफ्नो दशा अन्तरदशा कालमा मात्र फल दिन्छन् । तसर्थ ज्योतिषीय गणनाले मात्र त्यो समय निकाल्न सकिन्छ । यद्यपि, सूर्यको प्रभाव दैनिक जीवनमा पर्ने भएकोे कमजोर सूर्यलाई विभिन्न ज्योतिषीय उपचारमार्फत् सकारात्मक बनाउँदा लाभदायी हुन्छ ।

सामान्यतया मेष, मिथुन, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु राशीमा सूर्यलाई सकारात्मक र अन्यमा कमजोर मानिए पनि यो नै अन्तिम निश्कर्ष भने होइन । सूर्यसँग अन्य ग्रहहरुको तालमेल र अन्य ग्रहहरुको अवस्थाको विश्लेषण जरुरी हुन्छ । चन्द्र, मङ्गल र गुरु सूर्यका मित्र मानिन्छन्, शुक्र र शनि शत्रु र बुध न मित्र न शत्रु अर्थात् सम मानिन्छ । मित्र ग्रह वा मित्र ग्रहका राशिमा सूर्य सकारात्मक र शत्रु ग्रह वा ती ग्रहका राशिमा सूर्य नकारात्मक हुने अवस्थासँगै तत्तत् ग्रहहरु कुन अवस्थामा छन् । त्यसले सूर्यको स्वभावमा परिवर्तन ल्याइदिएको हुन्छ । तसर्थ गहन अध्ययनपछि मात्र फल कथन यथार्थ र सार्थक हुन्छ । सूर्य सकारात्मक भएका जातकले जीवनलाई अत्यन्तै उन्नत अवस्थामा जीउन पाउँछन् भने कमजोर भएका बेला जन्म लिने जातकले जीवनमा विभिन्न झमेला व्यहोर्नु पर्ने हुन्छ । आत्मबल कमजोर हुन्छ । शरीर कमजोर हुन्छ । पटकपटक हड्डी कमजोर हुने, सरकारी झमेलामा फस्ने, नेतृत्व गर्न नसक्ने या अरुको दास बन्ने सम्मको अवस्था आउँछ ।

यदि जन्म कुण्डलीमा सूर्य कमजोर छ भने ज्योतिष शास्त्रले विभिन्न उपायहरु दिएको छ । भनिन्छ ज्योतिष केबल फलकथनको विषय होइन । यसले जीवन सकारात्मक बनाउन उत्प्रेरित गर्ने र उपायहरुबाट ग्रहजनित दोष कम गराउने शास्त्र पनि हो । ग्रह दोष कारक छ भने त्यसको नकारात्मक प्रभाव कम गराउन ज्योतिषीय उपायहरुको अवलम्बन जरुरी हुन्छ । जहाँसम्म सूर्य ग्रहले नकारात्मकता दिने अवस्था जन्मकुण्डलीमा छ भने सूर्य मन्त्रको जप, सूर्य गायत्री तथा अवस्था हेरेर हवन, दान या अन्य उपाय अपनाउनुपर्छ । सामान्यतया यदि सूर्य कमजोर छ र नकारात्मकताले दुःख दिएको छ भने यसको अवस्था हेरेर जडीबुटीजन्य पदार्थ, रत्न, रातो कपडा, आदिको प्रयोग या दान गरेर राहत लिन सकिन्छ । तत्काल ज्योतिषीय सल्लाह लिने अवस्था छैन र सूर्यसम्बन्धी समस्या भोगिरहनु परेको छ भने सूर्य मन्त्र– ॐ घृणिः सूर्याय नमः को जप र सूर्यलाई दैनिक अर्घ दिँदा लाभ मिल्न थाल्छ । मन्त्र जाप र अर्घसँगै सूर्य प्रार्थना मन्त्र–जपाकुसुम संकाशम् काश्यपेयम् महाद्युतिम् । तमोऽरिम् सर्वपापघ्नम् प्रणतोऽस्मि दिवाकरम् ।। यो मन्त्रले प्रार्थना गर्नु अति लाभदायी हुन्छ ।

अन्त्यमा सूर्य पिताको मात्र नभई पितृहरुको पनि कारक भएकाले हरेक दिन पितृहरुको स्मरण र तर्पणले पनि सूर्यको नकारात्मक फल कम गर्न हुन्छ । हरेक दिन सूर्यलाई अर्घ दिँदा पितृहरुको पनि स्मरण गर्दा पितृकृपा मिल्छ । जसलाई पितृ कृपा मिल्छ, उसलाई कुनै पनि ग्रहजनित दोषले बिगार्न सक्दैन भन्ने शास्त्रीय वचन छ । यति गर्दा पनि सूर्यको नकारात्मक फल कम भएन भने उचित परामर्श लिएर दोष निवारण गर्नु नै उचित हुन्छ । अस्तु । (लेखक दक्षिण एशियाली ज्योतिष महासङ्घका सङ्गठन सचिव हुनुहुन्छ)

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles