• २०८२ फाल्गुन २१ गते बिहिवार
  • Preeti To Unicode

भारतीय अपराधी जोगीन्द्र गेओङको फरार हर्कत: नेपाली नागरिकता र राहदानीको दुरुपयोग


काठमाडौँ,  काठमाडौँबाट फिलिपिन्स जान सफल भएका भारतीय कुख्यात अपराधी जोगीन्द्र गेओङको हर्कतले नेपालको प्रशासन र कागजात जाँच प्रक्रियामा गम्भीर सवाल उठाएको छ। भारतीय अपराधी जोगीन्द्र गेओङले नेपाली नागरिकता र राहदानीको दुरुपयोग गर्दै काठमाडौँबाट फिलिपिन्स भागेका छन्। उनले नेपालमा २०१८ मा प्रवेश गरेर धनुषा जिल्लाका कान्त गुप्ताको नाममा नेपाली नागरिकता प्राप्त गरेका थिए र त्यस आधारमा नेपाली राहदानी बनाएर फिलिपिन्स पुगेका हुन्।

भारतीय प्रहरीको अनुरोधमा इन्टरपोलले रेड नोटिस जारी गरेपछि गेओङलाई फिलिपिन्सबाट पक्राउ गरी भारत डिपोर्ट गरिएको हो। उनले भारतमा हत्या, अपहरण र फिरौती असुली जस्ता गम्भीर अपराधमा संलग्न रहेका थिए। फिलिपिन्समा पनि उनले आफ्ना आपराधिक गतिविधिहरू जारी राखेका थिए।

नेपालसँगको जडानबारे दिल्ली पुलिसको सोधपुछमा खुलासा भएको छ कि जोगीन्द्र गेओङले धरानस्थित एक नेपाली महिलासँग विवाह गरेका थिए। यद्यपि, उनको नेपाल प्रवेश र कागजातहरूमा रहेका कमीकमजोरीले प्रशासनको कमजोरीको पक्षलाई उजागर गर्दछ।

यस घटनामा गेओङले जनकपुरका एक बिचौलियाबाट नेपाली नागरिकता र राहदानी २.५ लाख नेपाली रुपैयाँमा बनाएको कुरा खुलेको छ। यो घटनाले नेपालको कागजात जारी गर्ने प्रक्रियामा सुरक्षा खोट र अनियमितता भएको संकेत गरेको छ। अपराधीहरूले विदेशी मुलुकहरूमा सुरक्षित रहनको लागि नेपाली कागजातको दुरुपयोग गर्ने यो पहिलो घटना होइन।

यस घटनाले नेपाल प्रशासनलाई यस्ता कागजातको दुरुपयोगको घटनाहरूमा गम्भीर अनुसन्धान र कडा कारबाहीको आवश्यकता जनाइरहेको छ। यस घटनामा दोषी भएका अधिकारीहरू र बिचौलियाविरुद्ध कारबाही गर्न र कागजात जाँच प्रक्रियामा सुधार ल्याउनका लागि सशक्त कदम चाल्नुपर्ने कुरा सर्वत्र उठिरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार