काठमाडौँ — लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता विष्णुप्रसाद पन्थीविरुद्ध एक वर्षअघि मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि उनी अझै सार्वजनिक रूपमा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्।
हालै लुम्बिनीमा आयोजित बुद्ध जयन्ती कार्यक्रमजस्ता सार्वजनिक कार्यक्रमहरूमा सांसद पन्थी देखापरेका छन्। तर, प्रहरी प्रशासनले उनलाई नियन्त्रणमा लिन कुनै प्रयास नगरेको देखिन्छ।
पन्थीविरुद्ध पल्लवी इलेक्ट्रा प्रा.लि., विराटनगरले ठगीसम्बन्धी उजुरी दर्ता गराएको थियो। उजुरीमा उल्लेखअनुसार, गौतमबुद्ध हाइड्रो पावर प्रा.लि. का सञ्चालक पन्थी र उनका साझेदार देवराज खनालले कम्पनीबाट विद्युतीय सामग्री उधारोमा लिए पनि समयमै भुक्तानी नगरेको आरोप छ।
मोरङ जिल्ला अदालतले उक्त उजुरीको आधारमा एक वर्षअघि पक्राउ पुर्जी जारी गरेको हो। पुर्जी काठमाडौं, रुपन्देही लगायतका प्रहरी कार्यालयमा पुगिसकेको भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन।
पन्थीको राजनीतिक पहुँचका कारण प्रहरी कारबाही अघि नबढेको आशंका गरिएको छ। एक वर्ष बितिसक्दा पनि कानुनी प्रक्रिया अघि नबढ्दा आम नागरिकले प्रहरी प्रशासनप्रति गम्भीर प्रश्न उठाएका छन्।
यस विषयमा सम्बन्धित प्रहरी निकाय तथा सांसद पन्थीको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।