प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेल परेको चाङ्गाधुरी


काठमाडौं । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ । अहिले चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ। पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे« हिमालका साथै सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ।

दरबाङ, बाबियाचौर, तातोपानी बजार, नागबेली परेर बगेको म्याग्दी नदीको किनारबाट पहाड र हिमालको दृष्य एकैठाउँबाट देख्न पाइन्छ । चाङ्गाबाट देखिने मनमोहक हिमशृङ्खला, शान्त र एकान्त वातावरणले तन र मन दुवै चाङ्गा हुने त्यहाँ घुम्न गएका बेनीका दिप्सन खड्काले बताए ।

चाङ्गाको बराह मन्दिरको धार्मिक महत्व छ । भेडा, बाख्रा र गाईभैँसीका गोठ, स्थानीयवासीको जीवनशैली, संस्कृति र रहनसहन पनि पर्यटक लोभ्याउने माध्यम हुन् । खाजाखाना खाने रेस्टुरेन्ट र बास बस्न लज, सार्वजनिक शौचालय, सूचना बोर्ड, खानेपानी आदिको व्यवस्थापन गर्न सकेमा पर्यटकलाई सहज हुनेछ ।

पूर्वाधारको व्यवस्थासँगै प्राकृतिक सौन्दर्यताका विषयमा प्रचारप्रसार आवश्यक रहेको छ । चाङ्गा घुम्न जाने पर्यटक फेदीमा रहेको सिर्कुममा बास बसेर पैदलयात्रा र सडकमा सवारीसाधनमार्फत चाङ्गामा पुग्ने गर्दछन्।

पाहुनालाई आलु, मुला, भाँगो, टुसा, च्याउ, सिमीको दाल, ढिँडो, गौरीया र गुडुरा चामलको भात, स्थानीय कुखुराको मासुका परिकार चखाउने गरिएको छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल र जिपमा यात्रा गरेपछि चाङ्गा पुग्न सकिन्छ। बियाचौरबाट शेराफाट–पीपलबोट–पाखु–सिर्कुम हुँदै चार घण्टामा चाङ्गा पुग्ने पदमार्ग पनि छ ।

 चाङ्गा जोड्ने सडक स्तरोन्नति र पदमार्गलाई व्यवस्थित गरेर वनभोज, हाइकिङ र क्याम्पिङ गर्ने पर्यटक भित्र्याउन पहल गरिएको छ ।  चाङ्गाबाट बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा रहेको तिनचुले र मङ्गलाको वडा नं ४ मा रहेको गम्फाधुरीको एकीकृत पर्यटन विकासको योजना अनुसार काम भइरहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार