• २०८१ मङ्सिर २१ गते शुक्रवार
  • Preeti To Unicode

मौसम खुलेपछि रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लिएर जान लागेको विमान पोखरा विमानस्थलबाट उडेको छ ।  बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही लैजान लागेको हो ।

 भैरहवा र पोखरा दुवै विमानस्थलमा ‘भिजिबिलिटी’ कम हुँदा उडान–अवतरण हुन सेकको थिएन । अहिले मौसम खुलेपछि उडान सुरु भएको हो । लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

 सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ । यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार