काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी ३० औँ महानगर दिवस मनाउने भएको छ । बुधबार महानगरले पत्रकार सम्मेलन गर्दै मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन गरिएको जानकारी दिएको हो । विगत वर्षदेखि सञ्चालन गरिएका कार्यक्रमलाई थप व्यवस्थित, सहभागितामूलक र पहुंचयुक्त बनाउनुलाई यस वर्ष प्राथमिकता दिइएको महानगरले जानकारी दिएको छ ।
यस अन्तर्गत शिक्षा विभागमार्फत विद्यालयस्तरीय हाजिरी जवाफ र शिक्षकस्तरीय कविता बाचन प्रतियोगिता आयोजना भइरहेका छन् । महानगरका अनुसार मंसिर २७ गते विहान ७ बजेदेखि प्रमुखको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारी सैनिक मुख्यालयभित्र रहेको फुटबल ग्राउण्डमा मैत्रीपूर्ण फुटबल खेल आयोजना हुनेछ ।
मसिर २८ गते सम्पदा तथा पर्यटन विभागले परम्परागत बाजा तथा गुठी खलका गृहहरुको सम्मान कार्यक्रम गर्ने भएको छ । शिक्षा विभागबाट आयोजना गरिएका प्रतियोगिताका विजेतालाई भोलि नै पुरस्कार वितरण गरिनेछ ।
मंसिर २९ गते विहान ८ बजे सैनिक मञ्च, टुंडिखेलमा औपचारिक समारोह आयोजना हुने महानगरले जनाएको छ । त्यस अवसरमा वडास्तरीय सांस्कृतिक झाँकी प्रदर्शन, स्वास्थ्य शिविर, व्यक्तित्व सम्मान लगायत कार्यक्रम हुने छन् ।
यस अवसरमा स्थानीय मौलिक परम्परागत परिकार एवं पेय पदार्थको प्रवर्धन गर्न सबै वडाको सहभागिता हुने गरी टुंडिखेल मैदानमा बिहान ९ बजेदेखि खाना मेला हुनेछ र महिला उद्यमशीलतालाई प्रवर्धन गर्न ‘एक वडा, एक नमूना कार्यक्रम’ बाट उत्पादित बस्तु तथा सामग्रीको बजार पनि राखिने छ ।