27.1 C
Kathmandu
Monday, April 15, 2024
spot_img

निर्वाचन केन्द्रित हुँदै म्याग्दीका राजनीतिक दलहरु

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरु उम्मेदवार सिफारिस गरेसँगै निर्वाचन केन्द्रीत कार्यक्रममा केन्द्रित हुन थालेका छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा सत्ता गठबन्धनदल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाबाट सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सिफारिस गरिसकेका छन् । म्याग्दीमा क्रियाशील ठूला राजनीतिक दलहरुमध्ये नेकपा एमालेले पार्टी तथा जनवर्गीय सङ्गठन लक्षित निर्वाचन कार्यक्रमलाई तीव्रता दिएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि पार्टीका विभिन्न कमिटीबाट उम्मेदवार चयनका लागि सिफारिस गर्ने कार्य सम्पन्न गरेको जनाएका छन् । सम्पन्न स्थानीय तहको निर्वाचनमा म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिकामा गठबन्धनले एक गाउँपालिकामा मात्र विजय हासिल गरेको थियो । बेनी नगरपालिकामा नेपाली कांग्रेस नेकपा माओवादीसहितको गठबन्धन भए पनि विजयी हुन सकेको थिएन् । कांग्रेसले एक्लै रघुगङ्गामा विजय प्राप्त गरेको थियो भने नेकपा एमालेले मङ्गला, मालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा विजय हासिल गरेको थियो ।

आगामी निर्वाचनबाट जनताका पीर–मर्का समाधान गर्ने योग्य र सक्षम प्रतिनिधि चयन गर्न मतदान गर्ने कुरालाई मतदाताले जोड दिन थालेका छन् । सोही निर्वाचनका लागि स्थानीय प्रशासन र जिल्ला निर्वाचन कार्यालयले राजनीतिक दलहरुको सहमतिमा केही मतदान केन्द्रको हेरफेर गरेको छन् । साथै मतदान केन्द्रको थप गरी शान्ति सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउने तयारीसमेत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

जनताको साथमा कांग्रेस र ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले म्याग्दीले जिल्लामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा सङ्कलन गर्ने गरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरेको सो पार्टीले जनाएको छ । कांग्रेसले भदौ दोस्रो सातादेखि नै जनताको साथमा कांग्रेस कार्यक्रम सबै पालिकामा सञ्चालन गरिसकेको छ ।

एमाले मालिका गाउँपालिका कमिटीको आयोजनामा दरबाङमा सम्पन्न बैठकले पालिकाभित्रका सबै वडामा वडास्तरीय बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गरिसकेको छ । गाउँपालिका कमिटीको बैठक तथा भेलालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य एवं आसन्न प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले पार्टी सङ्गठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीले आफूलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको रुपमा सिफारिस गरेको अवस्थामा जिल्लाको सबै वडामा पुग्ने प्रतिबद्धता जनाउँदै आसन्न निर्वाचनको नतिजा पार्टीको पक्षमा आउने गरी खट्न पाटीका सबै पङ्ति र नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

गठबन्धनका दलहरुले पनि प्रतिनिधिसभा निर्वाचनका लागि आआफ्नो पार्टीबाट उम्मेदवार सिफारिस गरेका छन् । म्याग्दीको कोटामा कुन दल पर्ने र कसले टिकट पाउने भन्ने टुङ्गो नलागिसकेको अवस्थामा पनि गठबन्धनका दलहरुसमेत सिफारिस गरिएका उम्मेदवारसहित निर्वाचन केन्द्रित कार्यक्रममा जुटेका छन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles